काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी कार्यालय सानेपा पुगेका छन् । केहीबेर अघि उनी सभापतिको पदभार ग्रहण गर्न पार्टी कार्यालय पुगेका हुन् ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको नौ दिनपछि गगन थापा पार्टी कार्यालय सानेपा पुगेका हुन् । उनी उपसभापति विश्वप्रकाश शर्मासँगै पुगेका थिए । नयाँ कार्यसमिति पार्टी कार्यालय आउने भएपछि दुई घन्टाअघिदेखि नै सानेपामा नेता कार्यकर्ता र समर्थकको भीड लागेको थियो ।
२ बज्नुअघि मात्र सभापति सानेपा पुगेका थिए । कार्यकर्ताको भीडबाट पार्टी कार्यालय प्रवेश गर्न उनलाई निकै हम्मेहम्मे परेको थियो । उनी पार्टी कार्यालय प्रवेश गर्दैगर्दा कार्यकर्ताले ‘अबकी वार गगन सरकार’ को नारा लगाएका थिए । पार्टी कार्यालयको मूलढोकामा पुगेपछि थापाले हात हल्लाए अनि भित्र पसे । सभापतिको पदभार ग्रहण गरेलगत्तै केन्द्रीय समितिको बैठक सुरु हुनेछ ।
सानेपामा नवनिर्वाचित सभापति थापाको कार्यकक्ष तयार गरिएको छ। थापाको कार्यकक्ष साजसज्जा गरिएको छैन। एउटा कुर्सी र सोफा राखिएको छ। थापा बस्ने कुर्सीको ठीक माथि भित्तामा पूर्वसभापतिका तस्बिर टाँगिएका छन्।
कांग्रेसका संस्थापक सभापति बीपी कोइरालादेखि निवर्तमान सभापति शेरबहादुर देउवासम्म सबैको तस्बिर लहरै राखिएको छ। कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठकबाट थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।












प्रतिक्रिया