काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले मधेश र सर्लाही ४ नै रोज्नुको कारण बताएका छन् । सभापति थापाले यसपटक काठमाडौं बाहिरबाट चुनाव लड्ने अठोटसहित अघि बढेको बताएका छन् । ‘अघिल्लो पटक काठमाडौं बाहिर जाने आँट गर्न सकिनँ, तर यसपटक दृढ संकल्पका साथ जोखिम मोलेर अघि बढेको हुँ’, उनले भने ।
काठमाडौंमा जन्मिएर हुर्किएका थापाले आफ्ना बुवाआमा पहाडबाट आएको र आफूले पहाड र सहर दुवैलाई बुझ्ने अवसर पाएको उल्लेख गरे । तर राष्ट्रिय नेता बन्न पार्टी नेतृत्व मात्रै पर्याप्त नहुने उनको धारणा छ । ‘मैले बुझेको राष्ट्रिय नेता भनेको कुनै राष्ट्रिय पार्टीको नेतृत्व गर्ने व्यक्ति मात्र होइन, सिङ्गो राष्ट्रको भावना आफूभित्र समेट्न सक्ने व्यक्ति हो’, थापाले स्पष्ट पारे ।
उनले मधेशसँग सतही वा औपचारिक सम्बन्ध मात्र जोडेर नहुने भन्दै त्यहाँको समाज, संस्कृति र जनताबीच पुग्नुपर्ने आवश्यकता औंल्याए । ‘मधेशसँग मुखको सम्बन्ध मात्र जोडेर हुँदैन, त्यहाँको भएर त्यहाँकै जनतासामु जानुपर्छ’, उनले भने ।
नेपाली कांग्रेसको सदस्यका रूपमा पार्टीको इतिहास र मधेशको योगदानलाई स्मरण गर्दै थापाले मधेशले कांग्रेस निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए । ‘कांग्रेसको जन्म र विकासमा मधेशको ठूलो योगदान छ । त्यसैले जोखिम लिएर भए पनि आफूलाई मधेशमा समर्पित गरे मात्रै राष्ट्रिय नेता बन्न सकिन्छ भन्ने लगेर मैले सर्लाहीमा उम्मेदवारी दिएको हुँ’, उनको भनाइ थियो ।
सर्लाही – ४ बाट उम्मेदवारी दिनुको उद्देश्य सिङ्गो मधेशलाई नजिकबाट चिन्ने र बुझ्ने रहेको उनले बताए । काठमाडौँको कमलपोखरीमा छठ पूजाको सुरुआत आफ्नो नेतृत्वमा गरेको जानकारी दिदै त्यस्ता गतिविधिमार्फत मधेशसँग जोडिन सकिने भए पनि प्रत्यक्ष रूपमा मधेशमै गएर त्यहाँको समाज, संस्कृति र जनजीवन बुझ्न चाहेको थापाले उल्लेख गरे ।
उनको उम्मेदवारीले सर्लाही ४ का जनता हर्षित भएका छन् । सञ्चारकर्मी नरेश भट्टाराई, कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले उनको आगमनले क्षेत्रमा शिक्षा, स्वास्थ्यका क्षेत्र उल्लेखनीय विकास हुने विश्वास व्यक्त गरे ।












प्रतिक्रिया