काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा १ मा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये नौजना दलबाट र चारजना स्वतन्त्र उम्मेदवार छन्।
एमालेबाट नारायणप्रसाद आचार्य, कांग्रेसबाट सन्दीप राना, नेपाली कम्युनिष्ट पार्टीबाट हुमबहादुर सुनारी मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विमल पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बृहस्पति अर्याल र राष्ट्रिय जनमोर्चा पार्टीबाट नरमती सिंजाली उम्मेदवार छन्।
अघिल्लो निर्वाचनमा एमालेले यो क्षेत्रमा चुनाव जितेको थियो । तर यसपटक भने त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । आचार्यलाई कांग्रेसका राना र रास्वपाका पन्तले कडा टक्कर दिने त्यहाँका मतदाताहरू बताउँछन् । त्यसमा पनि चुनावी प्रचारप्रसार बढ्दै जाँदा सामाजिक अभियन्ता पन्तको माहोल बनेको छ ।
पन्त काठमाडौंमा बसेर सामाजिक सेवामा सक्रिय ढंगले लागेका युवा हुन् । पन्तले काठमाडौंमा रहँदा शिवरात्री, कुनै आन्दोलन वा धर्ना, जनप्रदर्शन, तीज वा अन्य पर्वमा सधै निःशुल्क पानी वितरण गर्दै आएका छन् । कुनै दुःखी पीडित देख्यो कि सेवा गर्न तम्सने, कोभिडको बेला अक्सिजन सिलिण्डर अस्पताल अस्पताल र घरघर बोकेर लगी सहयोग गरेर सयौँको प्राण बचाएकाले पनि उनले लोकप्रियता हासिल गरेका छन् ।
त्यस्तै, कपडा बैँक खोलेर देशैभरिका विपन्न जनतासमक्ष पुऱ्याउने अभियन्ता पन्त आफूलाई जनताको नोकर ठान्छन् । जनताले जिताएर पठाएमा उनीहरूको मात्रै काम गर्ने उनले बताए् ।
दुई दशकदेखि बाढीपहिरो पीडितलाई सहयोग गर्दै आएका पन्त जनताले तिरेको करलाई कदापी खेर जान नदिने बताउँछन् । काठमाडौंको शिक्षक आन्दोलन होस् या उखु किसानको आन्दोलन होस् उनले निःशुल्क पानी वितरण गर्दै आएका थिए । त्यति मात्र होइन, उनले तराई मधेशका उखु किसानलाई माइतीघर र गौशालाको धर्मशालामा निःशुल्क खानासमेत खुवाएका थिए । आफूले चुनाव जितेमा युवाहरुले उत्पादन गरेका सामानलाई बजारीकरण गर्ने उनको योजना छ ।
२०७२ को भूकम्पमा सेनाले उद्धार गरेर अस्पताल लगेका घाइतेलाई खाना वितरण, असहाय भएकालाई खाना र कपडा वितरण, कोभिडका बेला निःशुल्क खाना वितरण, रगत र आर्थिक अभाव भएकालाई सहयोग गरेकाले पनि अहिले उनको पक्षमा माहोल बढ्दै गएको हो ।












प्रतिक्रिया