रवि बाहिर ननिस्केपछि रास्वपाको कमाण्ड सम्हाल्दै बालेन


काठमाडौं । सहकारी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाले रास्वपा सभापति रवि लामिछाने अहिलेसम्म बाहिर खुलेर हिँड्न सकेका छैनन् । सुप्रिम सहकारी ठगीमा कारागारमा रहेका रबि पौने तीन करोड धरौटी तिरेर बाहिर निस्केका थिए । तर उम्मेदवार मनोनयन गर्ने दिन नै पर्सा जिल्ला अदालतमा एक करोड धरौटी तिर्नुपरेपछि मानसिक समस्यामा रवि त्यसपछि त्यति खुलेका छैनन् ।

अघिल्लो निर्वाचनमा रविले खुलेर आफ्ना उम्मेदवारदेखि चितवन २ का मतदाता र जिल्ला जिल्ला पुगेका थिए । तर यसपटक भने उनी जनकपुरधाममा चुनावी सभा गरेपछि सार्वजनिक भएका छैनन् । रविको अनुपस्थितिमा रास्वपाको कमाण्ड सिधै बालेन्द्र साह बालेनको हातमा पुगेको छ ।

रास्वपा वरिष्ठ नेता बालेन पूर्वको ६ दिन भ्रमण सकेर फर्केपछि आइतबार दिनभर भेटघाटमा व्यस्त रहेन । बालेन सोमबार नै पश्चिमतिर हान्निएका छन् । उनी आज बिहान नेपालगञ्ज हुँदै धनगढीतिर लागेका छन् ।

उनी बाँके र बर्दियाका विभिन्न स्थानमा भेटघाट तथा कार्यक्रमपछि धनगढीमा बास बस्नेछन् । नेपालगञ्ज विमानस्थलबाट सोझै कोहलपुर गोलपार्कमा,त्यसपछि बर्दियाको बाँसगढी,दिउँसो मैनापोखर र त्यहाँबाट गुलरिया,कुसुम्बाघाट,मधुवन हुँदै राजापुर जाने कार्यक्रम छ ।

आइतबार दिनभर ललितपुरको कुपण्डोलस्थित सम्पर्क कार्यालय बनाइएको कुमार बेनको घरमा रास्वपाका उम्मेदवारहरुसँग भेट गरेर उनी पश्चिम गएका हुन् । महानगरका प्रमुखबाट राजीनामा दिएपछि उनलाई रास्वपाको केन्द्रीय कार्यालय,वनस्थलीमा बनाइएको वरिष्ठ नेताको कार्यकक्षमा एकछिन राखिएको थियो । पदभार ग्रहण गरेको १० मिनेटमै उनले घन्टीघर छाडेका थिए । उनले अहिलेसम्म शपथसमेत खाएका छैनन् । चुनावी माहौलमा पनि उनी पार्टी कार्यालयमा नगई आफ्नो यसअघिको सम्पर्क कार्यालयमा बसेर नेता तथा कार्यकर्तासँग भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ ।