तीनपटक सर्लाही ४ बाट सांसद बनेका अमरेशलाई मतदाताको प्रश्नैप्रश्न


काठमाडौं । सर्लाही ४ बाट तीनपटक सांसद बनेका अमरेशकुमार सिंहलाई मतदाताले प्रश्नैप्रश्न गरेका छन् । कांग्रेस, स्वतन्त्र हुँदै अहिले रास्वपाबाट उम्मेदवार बनेका सिंहलाई यो अवधिमा के के काम भयो ? र, फेरि के भन्दै भोट माग्न आउने ? भनेर मतदाताले प्रश्न सोधेका छन् ।

सर्लाही ४ का मतदाता धिरज ग्वाला भन्छन्, ‘आज सर्लाही ४ का जनता आफ्नै मनसँग एउटा गम्भीर प्रश्न सोधिरहेका छन्। दुईपटक भोट दिएर हामीले के पायौं ? आज पनि हाम्रो क्षेत्रमा गुणस्तरीय सरकारी कलेज सपना नै छ। न त आधुनिक विद्यालय बने, न त गरिबका छोराछोरीलाई पढ्ने वातावरण। सामान्य उपचारका लागि पनि मलंगवा कि त जनकपुर वा काठमाडौं धाउनुपर्ने बाध्यता उस्तै।

स्वास्थ्य चौकी नामको मात्र, डाक्टर र औषधि अभाव पुरानै। चुनावको बेला मात्र देखिने योजना, चुनाव सकिएपछि हराउने विकास। गाउँ–टोलका सडक आज पनि धुलो र हिलोमै सीमित छ।’ ग्वाला थप भन्छन्, ‘मल, बीउ, सिंचाइ र बजार हरेक वर्ष उही समस्या, उही पीडा। किसानको आवाज संसदसम्म कहिल्यै पुगेन। रोजगारी छैन, अवसर छैन। बाध्य भएर युवाहरू विदेशिँदै छन्,।

दुईपटकको अवसर भाषण, नाराबाजी र माइकका लागि थियो ? कि जनताको जीवन बदल्नका लागि ? आज जनता मौन छैनन्। आज जनता प्रश्न गरिरहेका छन् किनकि लोकतन्त्रमा भोटको मूल्य हुन्छ, हिसाब पनि हुन्छ। अब चाहिएको छ– कामको राजनीति, जवाफदेही नेतृत्व ।’ अमरेशको चरित्र विकास विरोधीका रूपमा चिनिएका छन् ।

अन्य क्षेत्रका सांसदले विकासका योजना अघि सारेकामा उनले सार्वजनिक रूपमै आलोचना गरेका छन् । जसलाई लिएर अहिले मतदाताले उनलाई प्रश्न सोध्न लागेपछि सिंह पन्छिन थालेका छन् । लगातार तीनपटक सांसद जिते पनि केही काम नगरेको भन्दै अहिले सिंहसँग मतदाता असन्तुष्ट छन् ।

सोही कारण प्रचार प्रसारमा सर्वसाधारण कोही आउनै चाहेका छैनन् । कांग्रेस सभापति गगन थापा नै उम्मेदवार बनेपछि अहिले सर्लाही ४ मा उम्मेदवार बनेपछि माहोल तातेको छ । उनी सोमबार सर्लाही ४ पुगेका छन् । उनी अहिले मतदातासँग भेटघाटमा व्यस्त छन् ।