गगन थापाले खोजे देउवाको साथ, एकढिक्का भएर निर्वाचनमा होमिन सर्कुलर


काठमाडौं । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा कांग्रेस सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको साथ खोजेका छन् । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि देउवा समूह अझै असन्तुष्ट देखिएपछि सभापति थापाले सबैको साथ र सहयोग खोजेका हुन् ।

कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै देशभरका आफ्ना सांगठनिक संरचनालाई चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिएको छ । पार्टी केन्द्रीय सचिवालयले ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिहरूलाई विशेष परिपत्र पठाउँदै निर्वाचन तयारीमा जुट्न औपचारिक आह्वान गरेको हो ।

विशेष महाधिवेशनपछिको तरल राजनीतिक अवस्था र आन्तरिक समीकरणका बीच महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेमार्फत परिपत्र जारी गरिएको हो । परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, प्रक्रिया प्रति सहमत वा असहमत सबै पक्षलाई पार्टीको विधि र विधानलाई आत्मसात् गर्दै साझा लक्ष्यतर्फ केन्द्रित हुन आग्रह गरिएको छ । जित–हारको बहसभन्दा माथि उठेर निर्वाचनमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने सन्देश परिपत्रमा दिइएको छ ।

परिपत्रमा वर्तमान राजनीतिक परिस्थितिमा कांग्रेसलाई अघि बढाउन निवर्तमान सभापतिदेउवालगायत पार्टीका विभिन्न तह र निकायमा रहेका नेताहरूको साथ रहने विश्वास व्यक्त गरिएको छ । ‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरुबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहजरुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिइएको छ’, परिपत्रमा भनिएको छ ।

विगतमा भएका कमजोरीको आत्मालोचना गर्दै समीक्षा गरिएको उल्लेख गर्दै नेतृत्वले उपलब्धिलाई समयअनुसार संस्थागत गर्ने संकल्प गरिएको जनाएको छ । ‘अब कांग्रेस बदलिएको छ । बदलिनेछ,’ परिपत्रमा उल्लेख छ ।