रास्वपाका उम्मेखवार खगेन्द्र सुनार पनि तानिए विवादमा


काठमाडौं । एकपछि अर्को रासवपाका उम्मेदवार विवादमा तानिन थालेका छन् । आफ्नो कार्यशैली र अभिव्यक्तिका कारण रास्वपाका उम्मेदवार विवादित हुनेक्रम बढेको हो । तीन दिनअघि स्याङ्जामा चुनावी प्रचारका क्रममा रिमा विश्वकर्माले दिएका अभिव्यक्ति विवादमा तानियो ।

उनले यदि बालेन प्रधानमन्त्री भएमा उनलाई र रास्वपा सभापति रवि लामिछानेलाई स्याङ्जा ल्याउने बताएकी थिइन् । जुन अभिव्यक्तिले उनी ट्रोलमा परिन् । केही दिनयता रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनार पनि पुरानो अभिव्यक्तिले गम्भीर विवादमा तानिएका छन् ।

एक अन्तर्वार्तामा उनले ‘नेपालमा गाई खान पाउनुपर्ने’ दलील गरेको भिडिओ क्लीप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दलित अभियानबाट चर्चामा आएका सुनार पहिल्यैदेखि अराजक गतिविधि र उत्तेजक अभिव्यक्तिहरुले गर्दा विवादमा पर्ने गर्थे । उनको पृष्ठभूमि राम्ररी नकेलाइकन पार्टीको नेतृत्वमा पु¥याउँदा रास्वपालाई समेत अप्ठेरो परेको छ ।

मतदाताहरुले सुनारको अभिव्यक्तिबारे रास्वपा उम्मेदवारहरुलाई समेत प्रश्न गर्न थालेका छन् । सुनारले मंगलबार आफ्नो अभिव्यक्तिबारे सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै प्रष्टीकरण दिएका छन् । आफूले बोल्दै नबोलेको कुरालाई प्रविधिको प्रयोगमार्फत तोडमोड गरेर, छेउटुप्पा छोडेर भाइरल गरिएको उनको दाबी छ ।

‘राष्ट्रिय जनावरप्रतिको हाम्रो सम्मान छ, किनकी हामी पनि यो देशको नागरिक हो’, उनले भनेका छन् । आफू शाकाहारी भएकाले कुनै पनि जीवहत्याको पक्षमा नरहेको उनको भनाइ छ । रास्वपाकै अर्का उम्मेदवार कृष्णकुमार कार्की पनि संसद् आगजनी र तोडफोडमा संलग्न भएको पाइएपछि विवादमा परेका छन् । एक महिनाअघिसम्म रास्वपा सभापति रवि लामिछानेको विरोध गर्ने कार्कीले टिकट पाएपछि मोरङ २ मा असन्तुष्टि बढेको हो ।