काठमाडौं – यतिबेला सर्लाही ३ को चुनाव निकै प्रतिस्पर्धात्मक बनेको छ । नेकपा नेता नारायणकाजी श्रेष्ठ सर्लाही ३ मा आएपछि देशभर चर्चाको विषय बनेको छ । विगतमा सर्लाहीमै मात्र चर्चा रहँदै आएकोमा यसपटक देशभर फैलिएको छ ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमाले उम्मेदवार हरिप्रसाद उप्रेतीले जित हासिल गरेका थिए । यसपटक पनि एमालेले उप्रेतीलाई उम्मेदवार बनाएको छ । भूगोलमा बसेर जनताको सेवा गरेकै कारण एमालेले उनलाई पत्याएको हो ।
पूर्वरक्षामन्त्री उप्रेती चुनाव जितिसकेपछि पनि काम विशेषलाई मात्र काठमाडौं जाने गरेका छन् । नत्र भने सधैं मतदाताकै काममा लाग्ने भएकाले उनलाई भुइँ बुझेको उम्मेदवारका रूपमा लिने गरिएको छ । सोही कारण पर्यटक उम्मेदवार आए पनि त्यसले आफूलाई केही फरक नपर्ने उनको भनाइ छ ।
अहिलेको निर्वाचनलाई उनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने जनमतसंग्रह भएको उनको भनाइ छ । ‘यो निर्वाचन देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने विचको हार–जित फैसला गर्ने निर्णायक निर्वाचन हो। त्यसैले सम्पूर्ण कार्यकर्ता साथीहरू उच्च मनोबल, दृढ संकल्प र एकताका साथ अघि बढ्नुस्। सूर्यको जित सुनिश्चित छ,’ सोमबार एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ हरिवनले आयोजना गरेको निर्वाचन केन्द्रित क्षेत्रीय भेलामा उनले भने ।
सर्लाही ३ मा एमालेको संगठन बलियो भएको र आफूले गरेका विकासका काम नै चुनाव जित्ने बलियो आधार भएको उप्रेती बताउँछन् । स्थानीय जनतासँग घुलमिल हुने, सजिलो पहुँच भएको नेताको रूपमा चिनिनु, पार्टीभित्र अनुशासित र विवादरहित छवि, सर्लाही–३ का सिँचाइ, कृषि, बाटो, शिक्षा र रोजगारी जस्ता मुद्दामा संसदमा निरन्तर बोलेको, किसान, मजदुर र मध्यम वर्गलाई लक्षित कार्यक्रम ल्याएकाले पनि मतदाताले फेरि एकपटक आफूलाई मत दिएर चुनाव जिताउने उनको विश्वास छ ।
उप्रेतीलाई जिताउन अहिले स्थानीय संगठन र कार्यकर्ताको सक्रियता बढेको छ । टोल–टोलसम्म घरदैलो अभियान चलेको छ । पुराना कार्यकर्ताको निरन्तर सक्रियता देखिएको छ । मतदातासँग प्रत्यक्ष संवाद र विश्वास निर्माण गर्ने काम भएको छ ।












प्रतिक्रिया