काठमाडौं । आगामी फागुन २१ मा हुने निर्वाचनका लागि देशव्यापी माहोल तात्दै गएको छ । उम्मेदवारहरू घरघर पुगेर मतदाता भेट्न थालेपछि माहोत तातेको हो । यसैक्रममा चितवन ३ मा हुने चुनाव रोचक बन्दै गएको छ ।
दुई फरक राजनीतिक दलका दुई उच्च प्रोफाइल महिला उम्मेदवारहरूबीच प्रतिस्पर्धा भएकाले चुनाव रोचक बनेको हो । धेरैले मुख्य प्रतिस्पर्धा भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल र रासपाकी सोविता गौतमबीच हुने अनुमान गरेका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र राप्रपा पनि बलियो छन् । तर महिला भएकाले यी दुईको धेरै चर्चा भएको हो ।
२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धन थियो, कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डेलाई समर्थन गरेको थियो। २०७९ मा कांग्रेसले माओवादीलाई समर्थन गरेको थियो । तर एमालेले समर्थन गरेका राप्रपाका पाण्डे विजयी भए । यसपटक कांग्रेसले टेकप्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने एमालेले शंकर थपलियालाई अगाडि सारेको छ। राप्रपाबाट दीपक थापा मगर उम्मेदवार छन् ।
यो क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिकाका सबै वडाहरू समावेश छन्। यस क्षेत्रको आधाभन्दा बढी भरतपुर र बाँकी आधा माडी नगरपालिका मिलेर बनेको छ।
यो निर्वाचन क्षेत्रमा राप्रपाको १६,७०० समानुपातिक मत छ । तत्कालीन माओवादीको १६,०००, कांग्रेसको १०,५०० मत, एमालेको १४,५०० मत छ । रास्पपाको २८,४०१ समानुपातिक मत छ ।
कांग्रेसले यसपटक कसैसँग गठबन्धन नगरेको र कुनै पनि विद्रोही उम्मेदवार नउठेको हुनाले परम्परागत मतदाताको मत फिर्ता हुने आशा राखेको छ। एमाले नेताहरू वातावरणमा उल्लेखनीय सुधार आएको दाबी गर्छन् । यदि कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गरे भने, नेकपाकी रेनु दाहाल र रास्वपाका गौतम दुवै दबाबमा पर्नेछन्।
भरतपुरमा रेनुले गरेको कामका आधारमा उनले सजिलै चुनाव जित्ने अनुमान गर्ने पनि छन् । यस क्षेत्रमा रेनुले विकासका काममा गरेको मेहेनत सबैले देखेका छन् । र, उनको प्रशंसा पनि गर्छन् । तर अघिल्लो निर्वाचनमा काठमाडौं २ बाट जितेर सनसनी मच्चाएकी सोविता भने अहिले पार्टीप्रति देखिएको जनउभारकै कारण चुनाव जित्ने तर्क गर्छिन् । धेरैले रेनु र सोविताको भोट बैंक एउटै भएकाले दुवैलाई अप्ठेरो पर्ने अनुमान पनि गरेका छन् ।












प्रतिक्रिया