आफू निकट उम्मेदवारको प्रचारमा मात्र बालेन, रास्वपामा उकुसमुकुस


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा तीव्र उकुसमुकुस देखिएको छ । उम्मेदवार मनोनयन दर्ता गरेकै दिनदेखि वरिष्ठ नेता बालेन्द्र साह बालेनले तुफानी प्रचार अभियान थालेपछि पुराना नेता ओझेलमा परेका छन् । कुनै समय रवि लामिछानेमात्रै केन्द्रविन्दु बन्ने रास्वपामा अहिले बालेनले सबैलाई छायाँमा पारिदिएका छन् । जसकारण बालेनले रास्वपा हाइज्याक गरेको चर्चा सुरु भएको छ ।
बालेनलाई व्यापारी कमलकिशोर मालपानीले आठ करोड मूल्य पर्ने ल्यान्डरोभर डिफेन्डर गाडी ‘उपहार’ दिएको तथ्य खुलेसँगै रास्वपामा भित्रभित्रै भुसको आगो फैलिएको हो । रास्वपा प्रवक्ता मनिष झा र शिशिर खनालले सार्वजनिक रूपमै बालेनको व्यापारी मोहबारे बोलिसकेका छन् । यसले केही दिनमै रास्वपामा ठूलो विस्फोटको खतरा आकलन गरिएको छ । करेन्ट चाउचाउका मालिक मालपानीसँग बालेनले मेयर हुँदै ‘उपहार’ मा गाडी लिएको आशंका रास्वपाकै नेता कार्यकर्ताले गरेका छन् । रास्वपाका सुधन गुरुङ पनि यो विषयप्रति असन्तुष्ट देखिएका छन् ।

यतिबेला पार्टी सभापति रवि लामिछाने मौन जस्तै छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण रवि खुलेर बाहिर बोल्न र हिँड्न नपाएको बेला बालेनले पार्टी नै हाइज्याक गरेको देखिएको छ । किनकि रास्वपाका धेरै नेता गुमनाम जस्तै छन् । जताततै बालेन बालेन भन्दाभन्दै रास्वपा नै हाइज्याक भएको हो कि भन्ने अनुमान गरिएको हो ।

त्यसमा पनि बालेन अहिले आफू निकट उम्मेदवारको प्रचारमा हिँडेका छन् । प्रचारमा भन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शैलीमा पदयात्रामा छन् । उनले आफू निकट उम्मेदवार भेट्ने, तर कोही मतदातालाई नभेट्ने नीति लिएका छन् । ल है म आएँ भन्ने शैलीमा बालेनको चुनावी प्रचारप्रति रास्वपामा विरोध हुन थालेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि झापा ५ बाट उम्मेदवारी दिएका बालेन सोमबारदेखि सुदूरपश्चिममा छन् । उनी हिजो बाँके, बर्दिया पुगेका थिए । आज बिहान कैलाली २ मा पुगेर आफ्नो कोटाबाट उठेका केपी खनाललाई जिताउन आग्रह गरे । उनी दिउँसो कञ्चनपुर पुगे । त्यसअघि कैलालीका पाँचै उम्मेदवारलाई सामूहिक भेटेर उनी हिँडेका थिए ।