रवि लामिछानेलाई भएको के हो ? अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति


काठमाडौं । देश चुनावी माहोलमा तातिएका बेला रास्वपा सभापति रवि लामिछाने भने अस्पताल भर्ना भएका छन् । माघ ५ गते जनकपुरमा खुट्टामा चोट लागेपछि त्यो संक्रमण फैलिँदै गएर दुखाई सहन नसकेपछि उनी शिक्षण अस्पताल भर्ना भएका हुन् ।

लामिछानेको देब्रे खुट्टामा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहबमोजिम माघ १३ गते अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो। अस्पतालले रविलाई ‘सेलुलाइटिस’को संक्रमण देखिएका जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालले बुधबार जारी गरेको विज्ञप्तिअनुसार गत माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रमका क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि निको नभई ‘सेलुलाइटिस’ भएकाले उनलाई भर्ना गरिएको हो। विज्ञप्तिमा भनिएको छ, ‘उहाँको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको छ। उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।’

साथै, अस्पतालले सामाजिक सञ्जालमा लामिछानेको भन्दै भेटिएका फोटोहरू शिक्षण अस्पतालको नरहेको भन्दै ध्यानाकर्षण गराएको छ।

यसअघि माघ १३ गते लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले एक सूचना जारी गर्दै संक्रमणको जोखिमलाई मध्यनजर गर्दै केही दिन अस्पतालमै राख्नुपर्ने भएकाले भर्ना गरिएको जानकारी दिएका थिए। उनले अस्पतालमा अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर पर्न सक्ने र अस्पताल प्रशासनलाई असहज हुन सक्ने भन्दै शुभेच्छुकहरूलाई भेटघाटका लागि अस्पताल नआइदिन अनुरोध गरेका छन् ।

सेलुलाइटिस एक गम्भीर ब्याक्टेरियल संक्रमण हो, जसले छालाको भित्री तह र तन्तुहरूलाई असर गर्छ। छालामा सामान्य चोटपटक लाग्दा, काटिँदा, किराले टोक्दा वा शल्यक्रियाको घाउबाट ‘स्टेफिलोकोकस’ वा ‘स्ट्रेप्टोकोकस’ जस्ता ब्याक्टेरिया छालाको भित्री तहमा प्रवेश गरेपछि यो संक्रमण हुन्छ। लामिछानेको हकमा पनि चोट लागेको ठाउँबाटै संक्रमण फैलिएको देखिन्छ।