काठमाडौं । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँचजनाको मृत्यु भएको छ। बुधबार बिहान बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो।
बिहान करिब ८ बजे मुम्बईबाट उडेको चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरणका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए।
प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ ।
‘अजित पवारजी जनताका नेता हुनुहुन्थ्यो, उहाँको तल्लो तहको बलियो सम्बन्ध थियो। महाराष्ट्रका जनताको सेवा गर्ने अग्रपंक्तिमा रहेर काम गर्ने एक मेहनती व्यक्तित्वको रूपमा उहाँलाई व्यापक रूपमा सम्मान गरिन्थ्यो। प्रशासनिक मामिलाहरूको बारेमा उहाँको बुझाइ र गरिब र दलितहरूलाई सशक्त बनाउने जोश पनि उल्लेखनीय थियो। उहाँको असामयिक निधन धेरै स्तब्ध र दुःखद छ। उहाँको परिवार र अनगिन्ती प्रशंसकहरूप्रति समवेदना,’ भारतीय प्रधानमन्त्री मोदीदे सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
अजित पवार शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा हुन् । उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता हुन्।












प्रतिक्रिया