नेमकिपाको किल्ला भक्तपुर १ यसपटक भत्किने, को को छन् चुनौती दिने ?


काठमाडौं । देशका १६५ निर्वाचन क्षेत्रमध्ये भक्तपुर १ कहिल्यै पनि चर्चामा आउँदैन । कारण त्यो नेपाल मजदुर किसान पार्टीको वर्चस्व रहेको निर्वाचन क्षेत्र हो । त्यो निर्वाचन क्षेत्रबाट सधैं नेमकिपाले जित्दै आएको छ । यसअघि नारायणमान बिजुक्छेले जित्दै आएका थिए । उनले छाडेपछि प्रेम सुवालले जितलाई निरन्तरता दिएका छन् ।

नेमकिपाले देशका अन्य निर्वाचन क्षेत्रमा पनि उम्मेदवारी दिएको छ । तर उसको भक्तपुर १ भने ग्यारेन्टी क्षेत्र हो । अन्य दलका उम्मेदवारभन्दा नेमकिपाका उम्मेदवारले दोब्बर मतान्तरले चुनाव जित्ने गरेका छन् ।

भक्तपुर १ मा २०४८ सालदेखि लगातार चुनाव जित्दै आएको नेमकिपाका लागि यसपटकको प्रतिनिधि सभा निर्वाचन चुनौतीपूर्ण बन्ने देखिएको छ। उक्त क्षेत्रमा १६ राजनीतिक दल र नौजना स्वतन्त्र उम्मेदवारसहित कुल २५ जनाको प्रतिस्पर्धा रहेको छ।

लामो समयदेखि एउटै पार्टीको एकल वर्चस्व कायम रहेको यस क्षेत्रमा यसपटक विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरू नेमकिपालाई चुनौती दिँदै चुनावी मैदानमा उत्रिएका छन्। भक्तपुर १ मा २०४८ देखि २०७० सालसम्म सम्पन्न पाँचवटा निर्वाचनमा नेमकिपाका अध्यक्ष बिजुक्छे विजयी भएका थिए । त्यसपछि २०७४ र २०७९ को निर्वाचनमा सोही पार्टीका नेता प्रेम सुवाल निर्वाचित भएका थिए ।

यसपटक पनि नेमकिपाले प्रेम सुवाललाई नै उम्मेदवार बनाएको छ। नेमकिपालाई चुनौती दिन कांग्रेसका किरण न्यौपाने, एमालेका सोमप्रसाद मिश्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका ईश्वरीप्रसाद पैयानी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रूकेश रञ्जित चुनावी प्रतिस्पर्धामा छन्।

भक्तपुर १ अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका सबै वडाहरू पर्दछन्। भक्तपुर नगरपालिका नेमकिपाको बलियो आधार क्षेत्र मानिन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुखसहित सबै १० वडा नेमकिपाले जितेको थियो। तर चाँगुनारायण नगरपालिकामा भने राजनीतिक समीकरण फरक देखिन्छ। त्यहाँ नेमकिपाले वडा नम्बर ९ को वडाध्यक्ष मात्रै जित्दा अन्य वडामा कांग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका थिए।

२०७९ को निर्वाचनमा नेमकिपाका सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्दै विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गरेका थिए । राप्रपाका भरतबहादुर खड्का नौ हजार ३०३ मतसहित तेस्रो भएका थिए । माओवादीका सुनील गोठेले पाँच हजार २८३ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी सबै दलको मत जोड्दा पनि नेमकिपालाई भेट्टाउन मुस्किल पर्ने गरेको थियो । तर यसपटक भने माहोल फेरिएको मतदाता नै बताउँछन् ।