रुपन्देही २ मा यसपटक विष्णु पौडेललाई ‘ब्रेक’ लगाउने रणनीति


काठमाडौं । रुपन्देही २ को निर्वाचन यसपटक पनि रोचक र पेचिलो बनेको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र भएकाले यो राष्ट्रिय चर्चामा रहने गर्छ । यसअघि एमालेका वासुदेव घिमिरेले एमाले छाडेका थिए । उनी रास्वपा प्रवेश गर्ने चर्चापछि तुरुन्तै पौडेल गएर उनलाई फकाएका थिए । घिमिरेको रुपन्देहीमा पकड बलियो मानिन्छ ।

उनलाई एमालेले रुपन्देही ३ मा टिकट दिएको छ । यो क्षेत्रबाट लगातार पाँचौँ जित निकाल्न कस्सिएका पौडेललाई ‘ब्रेक’ लगाउने प्रयासका साथ कांग्रेसका चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टीका सुभाष पाण्डे (विश्वदीप), नेपाल जनसेवा पार्टीबाट कमल भुसाल (डा.निकोलस भुसाल) मैदानमा उत्रिएका छन् ।

रुपन्देही २ का निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेका अनुसार यस क्षेत्रमा १९ दलका १९ र स्वतन्त्र २० गरी ३९ जना चुनावी मैदानमा छन् । रुपन्देही २ मा २७ देखि ७८ वर्षसम्मका उम्मेदवार छन् । ४१ जनाले उम्मेदवारी दर्ता गरेकामा एकजनाको खारेज र अर्का एकजनाले फिर्ता लिएका थिए । निर्वाचन अधिकृत न्यौपानेका अनुसार सार्वभौम नागरिक पार्टीबाट उम्मेदवार बनेकी कमलादेवी गुरुङको उम्मेदवारी खारेज भएको हो ।

कालोसूचीमा परेका कारण उनको उम्मेदवारी खारेज भएको न्यौपानेले बताए । राप्रपा उम्मेदवार कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छिन् । विदेशको स्थायी आवास अनुमति (पिआर) त्यागेको तीन महिना नपुगेकाले कानुनी रूपमा उम्मेदवारी दिन नपाउने भएपछि उनले फिर्ता लिएकी हुन् । यहाँ नौजना महिलाको उम्मेदवारी परेको छ । ६५ वर्षमाथिका चारजना उम्मेदवार छन् । २७ देखि ३५ वर्षसम्मका आठजनाले उम्मेदवारी दिएका छन् । चुनावी परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारी दर्तासँगै आ–आफ्नै रणनीतिका साथ उम्मेदवारहरू मैदानमा भिडेका छन् । उनीहरू आन्तरिक भेलादेखि मतदाता भेटघाटमा व्यस्त छन् । आन्तरिक तयारीपछि चुनावी प्रचार कमान्डर तय गरी प्रचारलाई व्यापकता दिने तयारीमा प्रमुख दल छन् ।