रवि लामिछाने, जगदीश खरेलददेखि ऋषि धमलासम्मका पत्रकार उम्मेदवार, सबैभन्दा बढी रास्वपाका


काठमाडौं । यतिबेला देश चुनावमय भएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी प्रचार प्रसारका क्रममा छन् । नयाँदेखि पुराना गरी ३४ सय उम्मेदवार १६५ पदका लागि मैदानमा उत्रेका छन् । फागुन २१ गते हुने निर्वाचनमा राजनीतिज्ञ, कानुन व्यवसायी, समाजसेवी, वैज्ञानिक, कानुन व्यवसायी, उद्योगपति र व्यापारी, पत्रकार, जेनजी उम्मेदवार बनेका छन् । अरुलाई प्रश्न गर्ने पत्रकार उम्मेदवार झन्डै एक दर्जन चुनावी मैदानमा उत्रिएका छन् ।

भक्तपुर २ मा कांग्रेसको तर्फबाट प्रतिनिसिधा सदस्यको उम्मेदवार छन् कविर राणा । ३७ वर्ष सक्रिय पत्रकारिता गरेका उनले सांसदको टिकट पाएपछि यात्रा बदले । ०४६ देखि पत्रकारितामा आबद्ध राणा आफैँ जवाफ दिने ठाउँमा पुग्न खोज्दै छन् । हरदिन प्रश्न गरेर ३७ वर्ष गुजारेका अर्का पत्रकार ऋषि धमलाले पनि ६ माघमा एकाएक यात्रा बदले । रौतहट ४ मा आम जनता पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनले एकचरण प्रचारप्रसार पनि भ्याइसकेका छन् ।

ऋषिको पत्रकारिता यात्रा हकरदेखि सुरु भएर टेलिभिजनको मालिकसम्म पुग्यो । टेलिभिजन सञ्चालक भए पनि उनी अन्तिम दिनसम्म पनि निरन्तर रिपोर्टरकै रूपमा सक्रिय रहे । पत्रिका, रेडियो र टेलिभिजनको पर्दाबाट नेतासँग जवाफ मागे । तर, अब उनी आफैँ जवाफ दिने सदनमा पुग्न चाहन्छन् ।

ललितपुर २ बाट उम्मेदवार रहेका जगदीश खरेललाई सक्रिय पत्रकारिता गर्दागर्दै मन्त्री बन्ने अवसर मिल्यो । चार महिना चुनावी सरकारको मन्त्री खाएका खरेल रास्वपाबाट टिकट लिएर मैदानमा उत्रिएका छन् । खरेलले २५ वर्षसम्म इमेज टेलिभिजनको स्टुडियोमा उभिएर धेरै नेतालाई प्रश्न गरे । २२ वर्षदेखि सक्रिय पत्रिकारितामा रहेका जन्मदेव जैसी पनि राजनीतिमा होमिएका छन्, भक्तपुर २ बाट उम्मेदवारी दिएर ।

श्रमजीवी पत्रकारका मुद्दामा सधैँ अग्रमोर्चामा उभिएर विद्रोह गरेका उनी अब संसद् पुग्न चाहन्छन् । पत्रकारिता छाडेर राजनीतिमा होमिएका राजीव खत्री पनि भक्तपुर २ मै चुनावी प्रतिस्पर्धामा छन् । रास्वपाबाट टिकट पाएका उनले २० वर्ष सक्रिय पत्रकारिता गरे । पछिल्लो समय न्युज २४ टेलिभिजनमा काम गर्दै थिए । भूमिका बदल्दै रास्वपा प्रवेश गरेका उनले टिकट पनि पाइहाले । धनुषा ३ मा स्वतन्त्र उम्मेदवारी दिएका दिवाकर शाह पनि ५ माघसम्म पत्रकारितामै सक्रिय थिए ।

रिपोर्टिङका क्रममा भुइँमान्छेका समस्या नजिकबाट बुझेको भन्दै उनले ती समस्याको समाधान खोज्न राजनीति रोजेको बताए । काठमाडौं ९ मा जनमोर्चाबाट उम्मेदवार रहेका रोशन दानी पनि पत्रकार हुन् । यीबाहेक सक्रिय पत्रकारितालाई बिराम दिएर निर्वाचनमा होमिएका पत्रकार बाराकी प्रियंका दास, सिन्धुपाल्चोकका प्रमोद न्यौपाने, जुम्लाका मनऋषि धिताल, हुम्लाका दीपेन्द्र रोकाय र कञ्चनपुरका ज्ञानेन्द्र महता पनि हुन् ।

त्यसमध्ये दास कांग्रेसबाट, न्यौपाने र महता रास्वपाबाट समानुपातिक उम्मेदवार हुन् । धिताल प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट जुम्ला– १ बाट उम्मेदवार छन् । त्यस्तै, रोकाय नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट हुम्लामा उम्मेदवार छन् । नेपाली राजनीतिमा सक्रिय पूर्वपत्रकारको संख्या अझ धेरै छ । रास्वपा सभापति रवि लामिछाने पत्रकारिताबाटै राजनीतिमा छिरेका हुन् ।

उनी चितवन २ का उम्मेदवार हुन् । नेकपाबाट काठमाडौं– १० मा उम्मदेवार बनेकी रूपा महर्जन पनि पूर्वपत्रकार हुन् । पत्रकार अजयबाबु सिवाकोटी दोलखामा उम्मेदवार छन् । राप्रपाबाट काठमाडौं ६ का उद्धवराज भेटवाल पनि पूर्वपत्रकार हुन् । राप्रपाबाटै झापा २ मा उम्मेदवार बनेका स्वागत नेपाल पनि पूर्वपत्रकार हुन् । प्युठानबाट एमाले उम्मेदवार सूर्य थापा तथा रास्वपाबाट उम्मेदवार बनेका कञ्चनपुर–२ का दीपक बोहरा, चितवन–३ की सोबिता गौतम र झापा– २ की निशा डाँगी पनि पूर्वपत्रकार हुन् ।