काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘बाचापत्र’का रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । घोषणापत्र निर्माण समितिको नेतृत्व उपसभापति स्वर्णिम वाग्लेले गरेका छन् । घोषणापत्र निर्माण समितिमा अरनिको पाण्डे, क्रान्तिशिखा धिताल, नन्दन यादवलगायत सदस्य छन् ।
न्याय, अर्थ, निर्माण, लोककल्याण र अस्तित्व गरी पाँचखम्बे अवधारणामा आधारित बाचापत्र ल्याइने वाग्लेले बताए । बाचापत्रमा लागत, स्रोत व्यवस्थापन र कार्यतालिकासमेत स्पष्ट रूपमा समेटिने रास्वपाले जनाएको छ । बाचापत्रको मूल खण्डमा २२ वटा मन्त्रालयलाई १५ वटामा क्लस्टरिङ गरी पाँच खम्बामा आधारित कार्यक्रम ल्याइने भएको छ । बाचापत्रमा अपिल, नक्सा, तथ्यांकीय तालिका समावेश हुनेछन् ।
साथै, रास्वपा सरकारमा पुगेको पाँच दिनभित्र गर्ने ५० निर्णयसमेत स्पष्ट रूपमा उल्लेख गरिने बताइएको छ । बाचापत्र प्रदेश, पालिका र वडा तहसम्मका छलफल तथा विज्ञहरूको सुझावका आधारमा तयार पारिँदै छ । यसलाई फागुन पहिलो साता सार्वजनिक गर्ने तयारी रहेको उपसभापति वाग्लेले बताए ।
रास्वपाले सुशासन र सेवा प्रवाहलाई मुख्य प्राथमिकता दिने भएको छ । रास्वपाको बाचापत्रमा अर्थतन्त्र, यातायात, शिक्षा, स्वास्थ्य र कृषिका विषय अन्य दलभन्दा फरक ढंगले प्रस्तुत गरिनेछ । आर्थिक समृद्धि, जेन–जीका माग, पुराना पार्टी संरचनाभित्र नयाँ पुस्ताको हस्तक्षेपलगायत विषय समेटिने बाचापत्रमा ०७९ देखि ०८२ सम्मको यात्राको समीक्षा र कमजोरीमा आत्मालोचनासमेत गरिनेछ ।












प्रतिक्रिया