चुनावी अभियानमा रास्वपालाई दोहोरियो वियोग, अनिष्ट हुने स्रकेत


काठमाडौं । रवि लामिछाने नेतृत्वको रास्वपालाई चुनावी अभियानमा दोस्रो वियोग आइपरेको छ । २०८० को चितवन २ को उपचुनावका बेला रविका ड्राइभर शिव थापाको घरको छतबाट खसेर मृत्यु भएको थियो । दिनभर रविसँग चुनावी प्रचारमा हिँडेका थापा राति छतबाट खसेका थिए ।

आइतबार रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनको चुनावी प्रचारमा सहभागी भएका चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको निधन भयो । बालेनसँगै चुनावी प्रचारका लागि सुदूरपश्चिमको अछाम पुगेका पत्रकार सिटौलाको ब्रेन ह्यामरेजका कारण निधन भएको चिकित्सकले बताएका छन् ।

शुक्रवार बिहान करिब साढे ९ बजे अकस्मात बेहोस भई ढलेका सिटौला त्यसपछि उठेनन् । उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्याउँदा बाहिरी चोट नदेखिए पनि श्वासप्रश्वास र मुटुको चाल बन्द भइसकेको थियो। चिकित्सकहरूले करिब ४० मिनेटसम्म सिपिआर दिएपछि उनको मुटुको चाल फर्किएको थियो।

मुटुको चाल फर्किए लगत्तै उनलाई कृत्रिम श्वासप्रश्वासकै अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई टोखास्थित ग्राण्डी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। रास्वपा नेताहरूले स्वास्थ्य अवस्था सार्वजनिक नगर्न आग्रह गरेका कारण शनिवार बेलुकासम्म अस्पताल प्रशासन औपचारिक रूपमा बोलेको थिएन। आइतबार दिउँसो दाहसंस्कार गर्ने भनिए पनि अहिले शव पोस्टमार्टम गरिने भएको छ । त्यसका लागि शिक्षण अस्पताल लगिएको छ ।