सर्लाही ।
१५ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा सक्रिय भएका बिनोद खनालको सामाजिक तथा राजनीतिक यात्रा ४५ वर्षदेखि निरन्तर रूपमा अघि बढिरहेको छ। समाज रूपान्तरणको अभियानमा लामो समयदेखि संलग्न खनालले अहिलेसम्म कुनै लाभको पद वा राजनीतिक नियुक्ति नलिई आफ्नै प्रयास र साधनमार्फत सामाजिक विकासका कार्यमा योगदान दिँदै आएका छन्।
समृद्ध समाजको परिकल्पनासहित अघि बढिरहेका खनालले कुलो, कुलेसा, बाँध, पैनी, खानेपानी, विद्युत्, बाटाघाटा, कल्भर्ट, पुल, विद्यालय, कलेज तथा स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका छन्। व्यक्तिगत समय त्यागेर स्थानीय तहको विकास र जनसेवामा समर्पित रहँदै आएका उनी समाजमा इमानदार र प्रतिबद्ध राजनीतिज्ञका रूपमा परिचित छन्।
नेपाली कांग्रेसका पूर्व सर्लाही जिल्ला उपसभापति समेत रहेका खनालले आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सर्लाही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि पहिलोपटक उम्मेदवारी दिएका छन् ।
उम्मेदवारीबारे प्रतिक्रिया दिँदै खनालले भने, ‘म लामो समयदेखि यस क्षेत्रको सेवामा निरन्तर लागिरहेको छु। यसपटक पार्टीले मलाई जिम्मेवारी दिएको छ। क्षेत्रवासीको म्यान्डेट लिएर प्रतिनिधिसभामा पुग्ने मेरो लक्ष्य छ। यहाँका समस्या र जनताको भावनासँग म पूर्ण रूपमा जोडिएको छु, किनकि म र मेरा पुर्खाहरूले यहीँ सेवा गरेका छौँ। घरदैलो अभियानका क्रममा क्षेत्रवासीले देखाउनुभएको आत्मीयता र शुभेच्छाले झनै ऊर्जा थपेको छ।’
स्थानीय विकास, सामाजिक न्याय र समावेशी राजनीतिलाई प्राथमिकतामा राख्दै अघि बढेको खनालको उम्मेदवारीले सर्लाही–३ का मतदाता उत्साहित देखिएका छन्। वर्षौंदेखि खनालले गर्दै आएको सेवाको मूल्याङ्कन गर्ने अवसर पाएको भन्दै स्थानीयवासीले सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।
घरदैलो अभियानका क्रममा क्षेत्रवासीले खनाललाई स्वागत गर्दै विजयको कामना र आशीर्वाद दिइरहेका छन्। सर्लाही क्षेत्र नं. ३ अन्तर्गत हेमपुरका एक मतदाताले भने, ‘विनोदले हाम्रो क्षेत्रका लागि धेरै काम गरिसक्नुभएको छ। उहाँलाई सांसद बनेको हेर्ने हाम्रो चाहना थियो। यसपटक टिकट पाउनुभएको छ, हामी मत दिएर उहाँको सेवाभावलाई प्रोत्साहन गर्नेछौँ।’
‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ भन्ने मूल नारालाई आत्मसात गर्दै खनाल युवा, किशोरदेखि वृद्धसम्म सबै वर्गको भावना समेट्ने उद्देश्यसहित राजनीतिक मैदानमा उत्रिएका हुन्। लामो समयदेखि संगठन निर्माण र सामाजिक सेवामा सक्रिय खनालको उम्मेदवारीलाई सर्लाही क्षेत्र नं. ३ मा चासोका साथ हेरिएको छ।












प्रतिक्रिया