सर्लाही ४ मा मतदाताकहाँ जान हच्किए अमरेश, काठमाडौंमा ठूला नेताको घरघर पुग्दै


काठमाडौं । सर्लाही ४ मा रास्वपाबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहलाई अहिले आफ्नै बोली गलपासो बनेको छ । सर्लाही ४ मा कांग्रेस सभापति एवं उम्मेदवार गगन थापाले चुनाव जिते आफूले आत्महत्या गर्ने घोषणा गरेका सिंह चुनाव नजिकिँदै जाँदा डराउन थालेका छन् ।

तीनपटकसम्म चुनाव जिते पनि केही काम गर्न नसकेको मात्र होइन, धाकधम्की दिने, तर्साउने पहिलेको हथकण्डाले अहिले काम गर्न छाडेपछि अमरेश रन्थनिएका छन् । सोही कारण उनी अहिले मतदाताभन्दा काठमाडौंमा विभिन्न पार्टीका ठूला नेताको ढोका चहार्न थालेका छन् । केही दिनअघि मात्रै उनलाई सर्लाही ४ को एक गाउँमा मतदाताले लखेटेका थिए । अहिलेसम्म चुनाव जितेर के के काम गरेको हो देखाऊ भनेर जनताले सोधेपछि उनी नाजवाफ बनेका थिए । मतदाताले पार्टी फेर्दै उम्मेदवार बन्दै गर्दा फेरि पनि भोट चाहियो भनेपछि उनी गाडी चढेर कुलेलम ठोकेका थिए ।

विगतमा सर्लाही ४ मा हेभिवेट उम्मेदवारको फेला नपरेका अमरेश अहिले कांग्रेस सभापति नै आएपछि बडो सकसमा परेका छन् । गगनलाई कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ । गगन एक चरण सर्लाही ४ का मतदातालाई भेटेर काठमाडौं फर्केका थिए । उनले शनिबार मात्र काठमाडौंमा विभिन्न पेसा र व्यापार व्यवसाय गर्दै आएका मतदातासँग भेटघाट गरेका थिए । उनी आजै विराटनगर हुँदै सर्लाही पुग्ने भएका छन् ।

सुरुका दिनभन्दा अहिले सर्लाही ४ मा कांग्रेस उम्मेदवार थापाको पक्षमा चुनावी माहोल बनेको देखेपछि अमरेशले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग हारगुहार गरेको बुझिएको छ । उनले गगनलाई जसरी पनि हराउनुपरो भन्दै आफूलाई सहयोग गर्न प्रस्ताव गरेको बताइन्छ । स्रोतका अनुसार तर प्रचण्डले कुनै जवाफ भने दिएनन् । विगतमा प्रचण्डकै सहयोगका कारण अमरेशले सर्लाही ४ मा चुनाव जितेको सबैलाई अवगत छ । आफ्नो नयाँदिल्लीसँग राम्रो ट्युनिङ रहेको भन्दै अमरेशले प्रचण्डलाई प्रभावमा पार्न खोजेको बताइन्छ ।

विशेष महाधिवेशनबाट कांग्रेस सभापति बनेपछि गगनसँग रिसाएका ठूला नेतालाई भेट्ने प्रपञ्चमा पनि अमरेश लागेको बुझिएको छ । गगन थापासँग निकै रिसाएका मोहनबहादुर बस्नेतमार्फत अमरेशले शेरबहादुर देउवासँग प्रस्ताव पठाएको बताइन्छ । तर देउवाले अमरेशको प्रस्तावलाई त्यति भ्यालु दिएनन् ।

कांग्रेसको विशेष महाधिवेशनअघिसम्म अमरेश रास्वपा प्रवेश गर्ने सोचमा थिएनन् । उनी कांग्रेस नेतृत्व शेखर कोइरालाको हातमा आउनेमा ढुक्क देखिन्थे । त्यही भएर उनी कांग्रेसको देउवा समूहप्रति आक्रामक थिए । तर जब गगन थापा पार्टी सभापति बने, तब अमरेश रास्वपा प्रवेश गरेर सर्लाही ४ बाट टिकट लिइदिए । सोही कारण अहिले सर्लाही ४ मा पुराना रास्वपाका नेता कार्यकर्ताले अमरेशलाई वास्तै गर्न छाडेका छन् ।