आचारसंहिताविपरीत रवि र बालेनको ‘रोड शो’, निर्वाचन आयोग हेरेको हेरै


काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि चुनाव प्रचारप्रसारको दिन तोकेको छ । त्यसअघि आयोगले उम्मेदवारलाई सामाजिक सञ्जालमार्फत वा मतदातासँग भेटघाट र अन्तरक्रिया गर्न समय तोकेको छ । आयोगले जारी गरेको आचारसंहिताअनुसार प्रमुख दलका अधिकांश उम्मेदवार क्रियाशील देखिएका छन् ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेनले भने निर्वाचन आचारसंहिता धोती लगाइदिएका छन् । जेनजी आन्दोलनपछि आफ्नै पहलमा सरकार बनाएको भन्दै बालेनले निर्वाचन आचारसंहिता वास्ता गरेका छैनन् । बालेनलाई रास्वपा भित्र्याएर प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेपछि रवि लामिछानेले पनि आयोगलाई खुलेआम चुनौती दिन थालेका छन् ।

अहिले बालेन कोशी र मधेश प्रदेश, रवि बागमती र लुम्बिनी प्रदेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहको शैलीमा ‘रोड शो’ जारी राखेका छन् । आचारसंहिताविपरीत मतदातासँग घन्टी चुनाव चिन्ह देखाएर भोट माग्ने, उम्मेदवारलाई भोट माग्ने काम जारी राख्दा पनि रवि र बालेनलाई निर्वाचन आयोगले बेलगाम छाडिदिएको छ ।

जसको फाइदा रास्वपाले प्रशस्त उठाएको छ । जेनजी आन्दोलनको मूल भावना रास्वपा र उसका उम्मेदवारलाई भोट हाल्नुपर्ने ढंगले रवि र बालेनले रोड शो चलाउँदा अन्य दलका उम्मेदवार निरीह बनेको देखिन्छ । सोमबार राति नवलपरासी प्रशासनले रवि लामिछानेलाई आचारस्रहिताविपरीत गतिविधि नगर्न पत्र काट्यो ।

तर रवि मंगलबार बिहानैदेखि बर्दघाट, परासीबजारमा रोड शोमा निस्किए । कतिसम्म भने उनले नवलपरासीबाट रास्वपाका उम्मेदवारलाई मत पनि मागे । उनले खुलेआम आफू चुनाव प्रचारप्रसारका लागि नभई मतदाताहरूको भोट बुकिङ गर्न आएको बताए । अन्य जिल्लाको भेटघाटमा लामिछानेले सोझै रास्वपाको चुनाव चिन्हमा भोट हाल्न अपिल गर्दै आएका थिए।

तर, प्रशासनले कडाइ गरेपछि जिल्लामा भएका कार्यक्रममा उनले उम्मेदवारको नाम लिँदै घुमाउरो पारामा मतदातालाई मत दिन आग्रह गरे। ‘म प्रचारप्रसारका लागि आएको होइन, तपाईंको क्षेत्रमा योग्य उम्मेदवार उठाएका छौं। त्यसैले भोट बुकिङ गर्न आएको हुँ,’ उनले भनेका थिए । भोट किन्न आउने उम्मेदवारको पैसा लिन पनि उनले मतदातालाई उक्साए। ‘हाम्रा, बाटा, अस्पताल, स्कुल नबनाएका पैसा तिनै हुन्। पैसा दिन आए मज्जाले लिनुस्। पाप लाग्दैन।

तर गलत मान्छेलाई भोट दिए पाप लाग्छ,’ उनले भने। उता बालेनले मधेशको हुलाकी राजमार्ग केन्द्रित रोड शो गरेका छन्। जसअन्तर्गत उनले मधेश प्रदेशको पूर्वी सीमा जिल्ला सप्तरीको राजविराज पुगेर गाडीबाटै हात हल्लाउँदै फर्किएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उनी राजविराज आएका थिए।

नेता–कार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा पर्खिरहँदासमेत बालेन्द्र गाडीबाट ओर्लिएनन्। गजेन्द्र चोक आउँदा उनले स्वर्गीय नेता गजेन्द्रनारायण सिंहको शालिकमा समेत माला फ्याकेर हिँडे। उनी माल्यार्पन गर्न गाडीबाट नओर्लिएपछि नेता–कार्यकर्ता र समर्थक हेरेको–हेर्‍यै भए। रवि र बालेन सनरुफ गाडी चढेर हात हल्लाउँदै रोड शो चलाउन व्यस्त हुँदा पनि न त प्रशासन, न निर्वाचन आयोगले नै उनीहरूलाई प्रश्न गरेको छ ।