चितवन २ मा रवि लामिछानेलाई कांग्रेसकी मीना खरेलको कडा टक्कर


काठमाडौं । यतिबेला देश चुनावी माहोलमा तातेको छ । उम्मेदवार मतदातको घरदैलोमा पुगेका छन् । १६५ नयाँ सांसद कस्ता आउलान् भन्ने चर्चा परिचर्चा भइरहेको छ । जेनजी आन्दोलनपछि मतदाताको मन धेरै परिवर्तन भएको छ । तर उनीहरू सोचविचार गरेर मात्र योग्य उम्मेदवारलाई जनप्रतिनिधि छान्ने मुडमा देखिएका छन् ।

देशका झन्डै दुई दर्जन निर्वाचन क्षेत्र चर्चामा छ । ठूला र चर्चित नेताहरु उम्मेदवार बनेकाले पनि ती निर्वाचन क्षेत्र चर्चामा आएको हो । यसमध्ये चितवन २ पनि पर्छ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईपटक चुनाव जितेका छन् ।

लगातार दुई निर्वाचनमा फराकिलो मतान्तरले जितेका लामिछानेलाई यसपटक नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेल, एमालेका अस्मिन घिमिरे, नेकपाका प्रताप गुरुङ, राप्रपाका जगदीश्वर अधिकारीलगायतले चुनौती दिँदै छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पाँच जिल्लाका अदालतमा कानुनी प्रक्रियामा छन् । उम्मेदवारी दर्ताका क्रममा समेत अदालत धाइरहनुपरेका उनले वारिसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । जसकारण विपक्षीले कानुनी र नैतिक प्रश्नलाई मुख्य बहसको विषय बनाएका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा लामिछानेले ४९ हजार २६४ मत ल्याउँदै कांग्रेस र एमालेका उम्मेदवारलाई भारी मतान्तरले पराजित गरेका थिए । नागरिकता विवादका कारण सांसद पद गुमेपछि २०८० वैशाखमा भएको उपनिर्वाचनमा उनले ५४ हजार २७६ मतसहित पुनः जित हासिल गरे ।

यसपटक भने कांग्रेस सामाजिक स्वीकृति भएको उम्मेदवारमार्फत समीकरण बदल्ने प्रयास गरेको देखिन्छ । चितवन २ अझै पनि रवि लामिछानेका लागि अनुकूल क्षेत्र मानिए पनि यसपटकको प्रतिस्पर्धा अघिल्लाजस्तो एकतर्फी नहुन सक्ने संकेतहरू देखिएका छन् । सहकारी प्रकरण, अदालत धाइरहनुपर्ने अवस्था र पुनः उपनिर्वाचनको सम्भावनाबारे उठिरहेका प्रश्नले चुनावी वातावरणमा फरक आयाम थपेको छ । कांग्रेसले उठाएको उम्मेदवारको सामाजिक अभियन्ताको छवि, महिलाको प्रतिनिधित्व र सहकारी प्रकरणले उठाएका प्रश्नले मतदातालाई पुनर्विचारतर्फ धकेल्न सक्छ ।

यद्यपि एमालेको परम्परागत मत आधार, कांग्रेसको विगतको कमजोर प्रदर्शन र रास्वपाप्रतिको आकर्षणले लामिछानेलाई अझै बलियो बनाइरहेको विश्लेषण गरिन्छ ।

यसपटकको निर्वाचनमा रविलाई सबैभन्दा कडा टक्कर कांग्रेसकी मिना खरेलले दिने अनुमान गरिएको छ । कांग्रेसले यसपटक परम्परागत राजनीतिक अनुहारभन्दा फरक छवि खोज्दै सामाजिक अभियन्ता मीना खरेललाई उम्मेदवार बनाएको छ । खरेल तीन दशकभन्दा बढी समयदेखि महिला, बालबालिका र हिंसा प्रभावित समुदायको पक्षमा सक्रिय छिन् ।

चितवनमा हिंसा प्रभावित महिला तथा बालबालिकाका लागि अल्पकालीन पुनःस्थापना गृह सञ्चालन गर्ने पहिलो पहलकर्तामध्ये एक खरेलको नेतृत्वमा हजारौं महिलाले कानुनी सहयोग, सीपमूलक तालिम र आर्थिक आत्मनिर्भरता हासिल गरेको कांग्रेसको दाबी छ । समाजशास्त्रमा स्नातकोत्तर खरेल २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी थिइन् । हाल उनी कांग्रेस जिल्ला महासमिति सदस्य छिन् ।

खरेल मानव बेचबिखन नियन्त्रण, हिंसा प्रभावितको पुनःस्थापना र महिला सशक्तीकरणका क्षेत्रमा योगदान पु¥याएबापत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत भएकी छन् ।

कांग्रेसका केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले चुनाव जितेर पनि खासै केही नगरेका रविलाई निरन्तर यहाँ सामाजिक काम गरेर बसेकी मिनाको कारण कांग्रेसको जित सुनिश्चित जस्तै भएको बताए ।

रविले चितवन २ लाई निलो क्रान्तिको उद्गमस्थल बताउँदै आएका छन् । अहिले देशैभरी फैलिएको निलो क्रान्ति चितवनमा विगतभन्दा अझ दरिलो भएर स्थापित हुने उनको दावी छ ।

चितवन २ को चुनाव यसपटक केवल विकासका नारामा सीमित नरहने संकेत देखिएको छ । सहकारी ठगी प्रकरण, कानुनको समान कार्यान्वयन, राजनीतिक नैतिकता र सामाजिक न्यायजस्ता विषय बहसको केन्द्रमा छन् ।

चितवन २ मा मात्रै यसपटक एक लाख ३७ हजार १५२ मतदाताले मतदान गर्ने छन् । यहाँ पुरुष मतदाता भन्दा महिलाको संख्या बढी छ । जसमा महिलाको संख्या ६९ हजार २९४ र पुरुषको संख्या ६७ हजार ८५७ छ । रविको लोकप्रियता अझै भारी छ, तर मीना खरेलको सामाजिक पुँजीले त्यो लोकप्रियतालाई दह्रो टक्कर दिने अनुमान गरिएको छ ।