रास्वपा उम्मेदवार नरेन्द्र साहको क्यासिनोले पाँच करोड ठगी गरेको आरोप


काठमाडौं । सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साहको क्यासिनोले पाँच करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोले पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको कर्मचारी तथा ऋणीहरूले आरोप लगाएका हुन्।

बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले विश्वासका आधारमा कर्मचारीमार्फत क्यासिनोलाई दिएको ऋण फिर्ता नपाएको बताए। क्यासिनोले नियमित कारोबारका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट रकम लिने गरेको उनीहरूको भनाइ छ। क्यासिनो सञ्चालक साह सर्लाही ३ बाट उम्मेदवार बनेका छन्। चुनावी अभियानकै क्रममा उनीमाथि कञ्चनपुरमा ऋणीहरूको रकम फिर्ता नगरेको तथा कर्मचारीलाई तलब नदिएको आरोप सार्वजनिक भएको हो। क्यासिनोमा लामो समय काम गरेका राजेन्द्र कुमारले आफूले दिएको १० लाख रुपैयाँ फिर्ता नपाएको बताए ।

उनका अनुसार तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठमार्फत आर्थिक समस्यामा परेको भन्दै क्यासिनोलाई उक्त रकम ऋण दिएका थिए। क्यासिनोमा पुजारीको काम गर्दै आएका भोजराज भट्टले ३४ लाख रुपैयाँ फिर्ता नपाएको दाबी गरेका छन्। ‘क्यासिनोले बेला–बेला रकम सापटी लिने र समयमै फिर्ता गर्ने गथ्र्र्यो ।

त्यही विश्वासका आधारमा तीनपटकमा गरी ३४ लाख रुपैयाँ सापटी दिएको हुँ,’ उनले भने । क्यासिनोमा डान्स म्यानेजरको रूपमा कार्यरत नवराज श्रेष्ठले पनि ४० लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन्। उनले आठ लाख नगदसहित १७ महिनाको डान्सरहरूको तलब नपाएको बताएका छन्। उनले सञ्चालक साहसँग पैसा माग्दा जागिर छोडेर जान धम्की दिने गरेको उनको आरोप छ ।

क्यासिनोका पुर्व म्यानेजर सूर्यकमल श्रेष्ठका अनुसार विभिन्न व्यक्तिहरूको ठूलो रकम क्यासिनोले तिर्न बाँकी छ । शान्ति पाण्डेयको ३९ लाख, भुन्टु कुँवरको ३० लाख, लील गुरुङको ३४ लाख, मानवती पालको २० लाख, गणेश टेरको २० लाख, कविता जोशीको १८ लाख, राम पन्तको १५ लाखलगायत २० जनाको गरी कुल पाँच करोड २९ लाख रुपैयाँ बाँकी रहेको उनले बताए। त्यस्तै भारतीय नागरिक सञ्जीव गान्धीको २९ लाख र सदाबको २० लाखसहित करिब दुई करोड ३६ लाख रुपैयाँ समेत तिर्न बाँकी रहेको उनको भनाइ छ । यस विषयमा सञ्चालक साहसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

हाल क्यासिनोको व्यवस्थापकीय टिममा कार्यरत एक कर्मचारीले साह चुनावी अभियानमा व्यस्त रहेको बताए । बुधबार साह सर्लाही ३ मा बालेनसँग रोड शोमा सामेल थिए । साह २०७९ मा सर्लाही ३ बाट माओवादीका उम्मेदवार बनेका थिए। यसपटक उनी रास्वपाबाट उम्मेदवार बनेका हुन्। २०७४ को चुनावमा उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।