बालेनले आफ्ना समर्थकलाई गाडीबाट धकेलेको भिडियो भाइरल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा ५ बाट उम्मेदवार बालेन्द्र साह बालेनको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । बुधबार पर्साको वीरगन्जमा उनले आफ्नो समर्थकलाई गाडीबाट धकेलेको भिडियो भाइरल बनेको हो । भिडियोमा सनरुफ गाडीमा उभिएका बालेनलाई एक युवाले नेपालको झण्डा ओढाइदिन रमाउँदै आएको देखिन्छ । तर बालेनले आफूतिर आएका ती युवालाई धकेलेर गाडीबाटै खसालिदिएका छन् ।

जसलाई लिएर अहिले उनको चौतर्फी आलोचना भइरहेको छ । चुनावी अभियानमा रहेका बालेनले केही दिनअघि एकजना पत्रकारको मोबाइल फुटाइदिए । पत्रकारले फोटो खिचिरहेकोमा उनले खसालेर खुट्टाले किल्चिदिएका हुन् । पत्रकारको मोबाइल फुटाएपछि विवादमा तानिएका उनले स्वर्गीय नेताको अपमान गरेको भन्दै आलोचना सुरु भएको छ ।

अस्ति सप्तरीको राजविराज पुगेका उनले गजेन्द्रनारायण सिंहको शालिकमा माला फ्याँकेका थिए । हाल सो भिडियो पनि सामाजिक सञ्जालमा भाइरल छ । तराईका प्रभावशाली नेता गजेन्द्रबाबुको शालिकमा माला फ्याँकेको भन्दै उनको चर्को विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता विनोदकुमार यादवले मधेशको मसिहालाई किन अपमान गरेको ? भन्दै बालेनसँग जवाफ मागेका छन् ।

‘जब पूरा देश र जनताले बालेनलाई गरिरहेको छ सम्मान, त्यस्तो अवस्थामा मधेशको मसिहालाई किन गर्यो अपमान ? जनताको प्रश्न’,उनले लेखेका छन् । जनताको माझ हिँडेर जान नसक्ने लोकप्रिय नेता हुनै नसक्ने अर्का युवक कर्ण राईको जिकिर छ । ‘जनताको माझमा हिँडेर जान नसक्ने डरपोक नेता, अगाडि–पछाडि प्रहरी र सेनामेना लिएर गाडीबाट हिँड्ने लोकप्रिय नेता अरे’, उनले भनेका छन् । हाल बालेनले पूर्वदेखि पश्चिमसम्म रोड शो गरिरहेका छन् ।

भिडियो

https://www.facebook.com/share/r/17BXpmdhq8