काठमाडौं । ३० वर्षअघि तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट ‘सशस्त्र जनयुद्ध’ थालनी गरेको थियो । १० वर्षसम्म चलेको द्वन्द्वमा १७ हजार नेपालीले ज्यान गुमाए । हजारौं बेपत्ता र अंगभंग भए । नेपालले अर्बौको क्षति भोग्यो । सयौं भौतिक संरचना ध्वस्त बनाइए ।
नेपालमा सशस्त्र युघ सुरु गर्ने माओवादी आज अस्तित्वमै छैन । केही भुरेटाकुरे नेताले माओवादी भनेर पार्टीको नाम त राखेका छन् । तर त्यसबेला आन्दोलन थाल्ने पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, वर्षमान पुन, लेखराज भट्टलगायतले अहिले माओवादी विचारधारा नै परित्याग गरिसकेका छन् । प्रचण्ड अहिले नेकपाको संयोजक छन् ।
क्रान्ति र शान्ति स्थापनाको सुरुआत भएको रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । तर जनयुद्ध दिवसको शुभकामना दिने हैसियतमा छैनन् प्रचण्ड ।
राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा माओवादीले जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीको कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरुआत गरेको थियो ।
जनयुद्ध अगाडि बढाउन माओवादीले रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायत जिल्लालाई आधार इलाका बनाएको थियो । रुकुमपूर्वलाई आधार इलाका बनाउन जिल्लामा रहेका प्रहरी कार्यालयहरूमाथि चरणबद्ध आक्रमण गरेर सफलता पाएको थियो ।
विसं २०५३ वैशाख २३ मा उपल्लो सेराको छेरावाङमा माओवादीले एक प्रहरीको ज्यान जाने गरी प्रहरीलाई पहिलोपटक एम्बुस धरापमा पारेको थियो । विसं २०५४ माघ १६ गते क्युवाङमा एम्बुस आक्रमण गरेर माओवादीले नेपालमै पहिलोपटक थ्रीनट राइफल कब्जा गरेको थियो ।
माओवादीले २०५६ असोज ५ महतमा रहेका प्रहरीमाथि आक्रमण गरेर कब्जा गर्नुका साथै प्रहरी नायब उपरीक्षक ठूले राईसहितका प्रहरी जवानहरूलाई नियन्त्रणमा लिएको थियो । राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी थिए । माओवादीले आफ्ना शीर्षनेता देव गुरुङसँग राईलाई साटफेर गरेको थियो । विसं २०५७ चैतमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो । त्यस आक्रमणमा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो ।
विसं २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा.बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । विसं २०६२ असोजमा रुकुमको चुनवाङमा बसेको तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिश पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो ।
माओवादीको चुनवाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीति दलबीच १२ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य हुनुका साथै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भई शान्ति स्थापना भएको थियो ।












प्रतिक्रिया