सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय तहका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लामा चुनावी सरगर्मी बढिरहेका बेला भएको यो प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
जसपा नेपालका वरिष्ठ उपाध्यक्ष केदार नन्दन चौधरी तथा लोसपाका महासचिव मनिष मिश्रसहित केदारसिंह ठटौलालगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका हुन्। उनीहरूलाई चुनावी अभियानका क्रममा सर्लाही पुगेका कांग्रेस सभापति एवं सर्लाही–४ का उम्मेदवार गगन कुमार थापाले औपचारिक रूपमा स्वागत गरेका थिए।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक मूल्य, समावेशी सोच र विकासको साझा लक्ष्यले विभिन्न राजनीतिक पृष्ठभूमिका नेताहरूलाई एउटै धारमा उभ्याएको बताए। उनले भने, “देशलाई स्थिरता, सुशासन र परिणाममुखी विकास चाहिएको छ। त्यसका लागि विचार मिल्ने सबै शक्ति एउटै यात्रामा अघि बढ्नु आवश्यक छ।”
नवप्रवेशी नेताहरूले पनि आफूहरू विकास, स्थायित्व र सुदृढ लोकतान्त्रिक अभ्यासको पक्षमा उभिने निर्णयका साथ कांग्रेसमा आएको बताएका छन्। उनीहरूका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा मतदाताको अपेक्षा पूरा गर्न सक्षम शक्ति रोज्नु आवश्यक ठानेर कांग्रेस रोजिएको हो।
कार्यक्रममा उनीहरूसहित अरु कैयौँ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
सर्लाहीमा पछिल्ला दिनहरूमा विभिन्न दल परित्याग गरी कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै गएको बताइएको छ। विशेष गरी चुनावी अभियान तीव्र बनेसँगै जिल्लाका विभिन्न क्षेत्रबाट नेता–कार्यकर्ताहरू कांग्रेसतर्फ आकर्षित भइरहेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेस क्षेत्रको राजनीतिमा प्रभाव राख्ने नेताहरूको कांग्रेस प्रवेशले आगामी निर्वाचनमा शक्ति सन्तुलनमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ। यसलाई केवल दल परिवर्तनको घटना मात्र नभई स्थानीय राजनीतिक समीकरण फेरिने संकेतका रूपमा पनि हेरिएको छ।सर्लाहीमा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै जाँदा कांग्रेसको पल्लाभारी बढ्दै गएको छ।












प्रतिक्रिया