रुकुमबाट फर्किएपछि खुश्बु ओलीकाे प्रचण्डजीलाई प्रश्न- १७ हजारकाे बलिदानी यसकै लागि थियाे ?


रुकुममा राप्रपाको छोटो-मिठो चुनावी अभियान पश्चात म आज रुकुमबाट फर्कँदै छु। यो भूगोलसँग गाँसिएका इतिहास र सम्झनाहरूले मेरो मन भारी बनाईरहेको छ। यो भूगोलबाट तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रुकुमको आठबीसकोट प्रहरी चौकी आक्रमण गर्दै सशस्त्र युद्ध सुरु गरेको थियो।

तत्कालीन माओवादीले समानता, सम्मान र समृद्धिका सपना यहीँबाट देखाएका थिए। आजको दिनसम्म आईपुग्दा माओवादीका कार्यकर्ताहरू माओवादबारे के महसुस गरिरहेका होलान्? त्यो बेला विद्यालय जाने साना बालबालिकालाई बहकाएर किताबको सट्टा हातमा बन्दुक र बारुद थमाइयो। साधारण जनताले गहिरो गरि नै माओवादीलाई विश्वास गरे: निःशुल्क स्वास्थ्य, निःशुल्क शिक्षा, धनी-गरिबबीच समानता आउनेछ भन्ने सपना उनीहरूलाई देखाइयो।

पछाडि परेका भूगोलले आफ्नो पीडाको अर्थ पनि देखे। तर तीन दशकपछि, पीडासाथ म सोध्छु: त्यो सपना आज कहाँ छ? आज घाइते पूर्व लडाकुहरू के महसुस गरिरहेका होलान्? शहीदका परिवारहरूले आजको माओवादी नेतृत्वलाई कसरी हेरीरहेका होलान्? जब शीर्ष नेतृत्वका भ्रष्टाचार काण्ड, सत्ताको सौदाबाजी र कहिल्यै नजोडिने सिद्धान्त भएका दलहरूसँग बनेका गठबन्धन देख्दछन, उनीहरूको मनमा के चल्दो हो? नेतृत्वको वरिपरि नातावाद र कृपावाद बढ्दा, त्याग गर्ने कार्यकर्ता किन पछाडि परे; यो पीडा कस्तो होला? रुकुममा आज एउटा मध्यपहाडी लोकमार्ग त बनेको छ।

यस किसिमका मार्गहरुको खाका र वास्तविक परियोजना त राजा महेन्द्रकै पालामा नेपालले दशकौं अगाडी पाईसकेको थियो। आज रुकुमका नागरिकहरु अवषरको खोजीमा खाडीमा, भारतमा र अन्य अवैध बाटोलाई समातेर पश्चिमा देशमा भासिएर ठुलो दुख पाईरहेका छन्। यो माटोमा युवा किन रोकिएका छैनन? युवाको पलायन किन रोकिएन ? रोजगारीका अवषरहरु सिर्जना किन हुन सकेन? गाउँका कुना-कन्दरामा स्वास्थ्य र शिक्षाको अवस्था किन दयनिय छ? आज रुकुममा हेभीवेट नेताहरू चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।

मेरो प्रश्न छ: उनीहरूको छोराछोरी पढ्ने गरि कति गुणस्तरीय विद्यालयहरु यो भूगोलमा बने? उनीहरूकै परिवार उपचार पाउने गरि कति गुणस्तरीय अस्पताल यहाँ स्थापना भए? उनीहरूकै परिवारले पाउने जसरि कतिको रोजगारीका अवषरहरु यहाँ सिर्जना गरिए? यो माटोका किसानहरु पिडादाई अवस्थामा किन छन? १७००० को बलीदानी पश्चात यस माटोले आज के पायो त ? शीर्ष तहका सबै मन्त्री, सांसद र शक्तिशाली बने।

तर आधार-स्तम्भ बनेका माओवादी कार्यकर्ता, पूर्व सैन्यलडाकु अनि आम जनता कहिल्यै माथि उकासिएनन्। के सशस्त्र युद्ध सुरु गर्दा यही सपना देखाइएको थियो? के १७००० निर्दोष नागरिकहरुको बलीदानी यसैका लागि थियो? यी प्रश्नहरू मनमा बोकेर म रुकुमबाट फर्कँदै छु। रुकुमेली जनताहरुको आवाजलाई सुनेर-बुझेर फर्कँदै छु। म क्रोध बोकेर होइन; अन्तरआत्माको आवाज बोकेर रुकुमेली माटोबाट आज फर्कँदै छु। रुकुममा म फेरी आउने नै छु। रुकुम सत्य, सम्मान र आफ्नो विगतलाई धोका नदिने भविष्यको हकदार छ। रुकुम सपना देखाउने हैन, सपनालाई साँचो अर्थमा साकार तुल्याउने नेतृत्वको हकदार छ।