काठमाडौं । नेपालमा आमनिर्वाचन आउन दुई साताभन्दा केही दिनमात्रै बढी समय बाँकी रहँदा टुँडिखेलमा अमेरिकी सेनाको परेडले तरंग सिर्जना उत्पन्न गरेको छ ।
महाशिवरात्रि एवं सेना दिवसको अवसरमा विदेशी सेनाको प्रस्तुति दलीय वादविवादको विषय बन्नपुगेको छ । एउटा पक्षले जेनजी आन्दोलनमा पश्चिमी शक्तिराष्ट्रको हात भएको दाबी गर्दै यो सैन्य प्रस्तुति पनि त्यसैको निरन्तरता भएको दाबी गरेको छ । तर सरकार र सेना निकटहरूले भने यो विगतकै अभ्यासको निरन्तरतामात्रै भएकाले भ्रामक खबर नफैलाउन आग्रह गरेका छन् ।
अमेरिकी सेनाले राजधानी काठमाडौंको टुँडिखेलमा परेड खेलेको भनी सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनको मुखमा परेको सेना दिवस तथा महाशिवरात्रिका बेला सार्वजनिक यो तस्वीरबारे सर्वत्र चासोबीच जंगी अड्डाले यो नियमित तथा पारस्परिक सम्बन्ध बुझाउने अभ्यास मात्रै भएको भनी भ्रममा नपर्न आग्रह गरेको छ ।
एमाले अध्यक्ष केपी ओलीले टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको विषयमा आपत्ति जनाएका छन् । उनले अमेरिकी सेनाको परेड सार्वभौम राष्ट्रमाथि विदेशी सेनाको नांगा नाच भएको टिप्पणी गरेका छन् ।
ओलीले अमेरिकी सेनाको परेड नेपालको राष्ट्रियतामाथि गम्भीर हमला भएको आरोप लगाए । नेपाली सेना दिवस एवं महाशिवरात्रिको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतको उपस्थितिमा सेनाले आइतबार टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा अमेरीकी सेनाको एक टोलीले ब्यान्ड बाजासहितको प्रस्तुति गरेको थियो । सोही विषयप्रति संकेत गर्दै ओलीले नेपालको सांस्कृतिक मूल्यमान्यतामाथिको ठाडो हस्तक्षेपको सुरुवात गरिएको तर्क गरे ।
नेपाल र अमेरिकाबीच सन् १९४७ यता सैन्य सम्बन्ध रहँदैआएको छ । यसअघि गणतन्त्रकालमै पनि विभिन्न सरकारका पालामा यस्ता सैन्य ब्यान्डका नियमित प्रस्तुति हुँदै आएका छन् ।
नेपालले भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानलगायत विभिन्न देशका सेनासँग मिलेर नेपाल तथा अन्य देशमा संयुक्त सैन्य अभ्याससमेत गर्ने गरेको छ । सेनाले यी सबै कार्यक्रम विगतमाझैँ नियमित सञ्चालन हुने जानकारी दिएको छ ।
तर जनता भने आश्वस्त हुन सकेका छैनन् । एमसिसी संसद्बाट पारित भए भने नेपालमा अमेरिकी सेना प्रवेश गर्ने भ्रम विगतमा फैलाइएको थियो । त्यसबारे नेपाली जनमानस विभाजित मनस्थितिमा छ । त्यसमाथि जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार बार्बरा फाउन्डेसनबाट सञ्चालित भएको आरोपसमेत लाग्ने गरेको छ । यस्तो अवस्थामा अमेरिकी सेनाको परेडले विभिन्न आशंका उब्जाएको हो ।












प्रतिक्रिया