काठमाडौं । आचारसंहिताविपरीत सेतोपाटी अनलाइनले चितवन ३ मा सोविता गौतमलाई जिताएपछि नेकपा उम्मेदवार रेनु दाहालले चित्त दुखाएकी छन् । फागुन २१ गते मतदान आउनै बाँकी छ । तर आइतबार साँझ सेतोपाटी अनलाइनले ‘चितवन ३ मा सोविता गौतमले चुनाव जित्ने, रेनु दाहाल दोस्रो’ समाचार छापेपछि चौतर्फी आलोचना भएको छ । समाचारमा रास्वपाकी सोविता गौतमले ४६ प्रतिशत मत पाउने अनुमान गरेको छ ।
रेनु दाहालले २६ प्रतिशत मत पाउने, कांग्रेसले १३ प्रतिशत र एमालेले ६ प्रतिशत पाउने भन्दै नौ सय मतदातामा सर्वेक्षण गरेको दाबी गरेको छ । जबकि चितवन ३ मा झन्डै डेढ लाख मतदाता छन् । ‘यतिबेला म चितवन क्षेत्र नं। ३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ। भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु।
निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु,’ रेनुले भनेकी छन् । उनले मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत समाचार प्रकाशन प्रसारण नगर्न पनि सचेत गराएकी छन् ।
‘यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु। लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु,’ उनले भनेकी छन् ।












प्रतिक्रिया