नक्खु कारागार ब्रेक गरेकोमा चितवन २ कै मतदाताले रविसँग मागे स्पष्टीकरण


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछानेमाथि जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नक्खु कारागार ब्रेक गरेर नेतृत्व गरेको विषयमा मतदाताले नै प्रश्न गरेका छन् । चितवन–२ मा घरदैलो कार्यक्रममा रहेका लामिछानेलाई सोमबार एक मतदाताले जेनजी आन्दोलनका विषयमा प्रश्न गरेका हुन् ।

मतदाताले भदौ २३ र २४ मा भएको आन्दोलनका क्रममा लामिछानेसहित धेरै कैदीबन्दी बाहिर निस्किएको तथा आन्दोलनको नेतृत्वसमेत गरेको भन्ने चर्चा रहेको उल्लेख गर्दै स्पष्टीकरण मागे । ‘जेनजी आन्दोलनका क्रममा तपाईं बाहिर निक्लिनुभयो, धेरै कैदीबन्दी पनि निक्लिए । तपाईंले नै नेतृत्व गरेको भन्ने चर्चा छ । सत्य कुरा के हो ?’ ती मतदाताले प्रश्न गरे । लामिछानेले आफू कुनै पहुँच वा शक्ति प्रयोग गरेर बाहिर ननिस्किएको दाबी गरे।

उनले जेल प्रशासनले बयानका लागि पत्र थमाएर पठाएको बताए । ‘त्यसबेला आन्दोलनकै बीच बयान दिन जाने म एक्लो कैदीबन्दी थिएँ । पाँचवटा फलामे ढोकाभित्र बस्नुपर्छ कैदीले । मेरो के पहुँच थियो र रु उसले त जेल जोगाएको रहेछ भनेर आयोगका प्रमुख र जेलरले नै भन्नुभएको थियो,’ लामिछानेले भने, ‘अरु भागेर गए, म आन्दोलनको हुलमा गएँ ।

बाँकी कुरा उमेर र राजनीतिक चेतनाका रूपमा यति परिपक्व हजुरको विवेकलाई छाडेँ ।’ आफ्नै निर्वाचन क्षेत्रका मतदाताले समेत यस्तो प्रश्न उठाएपछि रवि लामिछाने निकै संकटमा परेको बुझ्न सकिन्छ । यसपटक चितवन २ मा कांग्रेसकी मिना खरेल उम्मेदवार भएकाले मतदातालाई विकल्प रहेको देख्न सकिन्छ । रविले जेल ब्रेक गरेपछि देशभरका १५ हजार कैदीबन्दी फरार भएका थिए । अझै पनि साढे चार हजार कैदीबन्दी बाहिर छन् ।