गगन सभापति बनेपछि एमालेबाट फेरि कांग्रेसमै फर्के जितेन्द्र देव


काठमाडौं । केही दिनअघि एमाले छाडेका जितेन्द्रनारायण देवले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् । नेता देवले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसको भर्खरै सम्पन्न विशेष राष्ट्रिय महाधिवेशनद्वारा गगनकुमार थापा सभापतिमा निर्वाचित भएको र महाधिवेशनबाट पारित भएको नीति, बिचार, योजना, प्रस्ताव तथा प्रतिवद्धताहरुलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको घोषणा गरेका हुन् ।

तराई मधेशमा बलियो प्रभाव रहेका र बौद्धिक नेता मानिने जितेन्द्र देव एमाले छाडेर कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले उनलाई राष्ट्रिय सभा सदस्य र मन्त्रीसमेत बनाएको थियो । तर पछिल्लो समय कांग्रेसमा देखिएको अकर्मण्यताका कारण उनी पार्टी छाडेर एमाले प्रवेश गरेका थिए । तर एक महिनाअघि विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेपछि र निर्वाचन आयोगले पनि मान्यता दिएपछि जितेन्द्र देव कांग्रेस फर्किएका हुन् ।

नेता जितेन्द्र देव फर्किएसँगै धनुषामा कांग्रेसको पक्षमा माहोल बनेको छ । यसपटक धनुषामा कांग्रेसले तीन क्षेत्रमा जित्ने लक्ष्य लिएको छ । धनुषा ३ मा विमलेन्द्र निधि र ४ मा महेन्द्र यादव अन्य दलका उम्मेदवारभन्दा बलियो रहेको मानिन्छ । त्यसमाथि कांग्रेस सभापति गगन थापा सर्लाही ४ मा उम्मेदवार बनेपछि मधेशमा सकारात्मक धारणा बनेको छ ।