काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई फागुन २१ को निर्वाचन नसकिएसम्म हिरासतमा राख्ने प्रपञ्च भएको छ । निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा सोमबार मध्यरात पक्राउ परेका प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा चलाइने भएको छ ।
यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । प्रसाईलाई एकछिन पनि बाहिर राख्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने आयोगको ठहरबमोजिम राति नै पक्राउ गरिएको दाबी गरिए पनि वास्तविकता भने फरक रहेको बताइएको छ । प्रसाईको दल र समूहले फागुन ८ गतेसम्म आफ्नो माग पूरा नभए लगत्तै अनिश्तिकालीन बन्दको घोषणा गरेको छ ।
प्रसाईको यो चेतावनीपछि सुशीला कार्की नेतृत्वको सरकार डराएको देखिन्छ । त्यति मात्र होइन, प्रसाईलाई रातारात पक्राउ गर्नुको मुख्य कारण झापा ५ को चुनावी फ्याक्टर रहेको बताइन्छ । स्रोतका अनुसार प्रसाईले झापा ५ मा १० हजार मत तलमाथि पारिदिन सक्ने र रास्वपाका उम्मेदवार बालेन्द्र साह बालेनलाई हराइदिने चेतावनी प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएपछि उनलाई पक्राउ गरिएको हो ।
त्यसैले प्रसाईलाई चुनाव नभएसम्म वर्तमान सरकारले खोरमै थुन्ने देखिएको छ । प्रसाईको झापामा बलियो संगठन रहेको छ । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाई र एमाले अध्यक्ष केपी ओलीबीच केही समयअघि गुन्डुमा तीन घन्टा भेटवार्ता भएको सूचना सरकारले प्राप्त गरेको थियो । त्यही दिनदेखि प्रसाईमाथि सरकारले धरपक्कड गर्न थालेको हो ।












प्रतिक्रिया