मोहम्मद युनुसले ‘सेभेन सिस्टर्स’ भनेपछि भारतमा तरंग, विभाजन चाहेको आरोप


काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिएर बाहिरिएका छन् । जेनजी विद्रोहपछि भएको आमनिर्वाचनमा बिएनपीले दुई तिहाइ मत ल्याएपछि नयाँ सरकार गठनका लागि उनले मार्गप्रशस्त गरेका हुन् । युनुसले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

सत्ताबाट बाहिरिने क्रममा उनले दिएको बयानले भारतमा खैलाबैला मच्चिएको छ । भारतीय मिडियाले युनुसले भारतको विभाजन चाहेको उल्लेख उल्लेख गरेका छन् । बिदाइ भाषणमा युनुसले भारतलाई असहज बनाउने बयान दिएको बीबीसी हिन्दीले जनाएको छ । ‘हाम्रो खुला समुद्र बंगलादेशको भौगोलिक सिमाना मात्र होइन, तर विश्वव्यापी अर्थतन्त्रसँग जोडिने खुला ढोका पनि हो। नेपाल, भुटान र यस क्षेत्रका सात बहिनीहरूमा ठूलो आर्थिक सम्भावना छ,’ उनले भने ।

उत्तरपूर्वी भारतका सात राज्यहरू अरुणाचल प्रदेश, आसाम, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र त्रिपुरालाई सामूहिक रूपमा ‘सात बहिनीहरू’ भनेर चिनिन्छन् । भारतको नाम नलिई युनुसले स्वतन्त्र रूपमा सात बहिनी उल्लेख गर्नुलाई उनले यी राज्यहरूलाई भारतभित्र छुट्टै राष्ट्रियताको रूपमा हेर्ने संकेतको रूपमा व्याख्या गरिएको छ।

युनुसले सात बहिनीलाई उल्लेख गरेको यो पहिलोपटक भने होइन। गत वर्ष युनुसले मार्च २६ देखि २९ सम्म चीनको भ्रमण गरेका थिए। यस भ्रमणको क्रममा युनुसले सेभेन सिस्टर्स पनि उल्लेख गरेका थिए।

युनुसले त्यसबेला सेभेन सिस्टर्सको समुद्रसँग कुनै सम्बन्ध नभएको र बंगलादेश यस क्षेत्रको एकमात्र संरक्षक भएको बताएका थिए । ‘भारतका सेभेन सिस्टर्स राज्यहरू भूपरिवेष्ठित छन् । उनीहरूको समुद्रमा पहुँच छैन । हामी यस क्षेत्रका संरक्षक हौं। यहाँ चीनको अर्थतन्त्रको लागि अपार सम्भावना छ। चीनले यहाँ धेरै चीजहरू उत्पादन गर्न सक्छ र सम्पूर्ण विश्वलाई आपूर्ति गर्न सक्छ,’ उनले भने ।

भारतको पूर्वोत्तर क्षेत्र धेरै संवेदनशील मानिन्छ । सिलिगुडी करिडोर २२ किलोमिटर चौडा, उत्तरपूर्वी भारत र बाँकी भारत बीचको एक मात्र भूमि लिंक हो। बंगलादेश र नेपालले पनि यस करिडोरमा सीमाना साझा गर्छन्। यसलाई ‘चिकेन नेक’ पनि भनिन्छ। भुटान र चीन पनि यस करिडोरबाट केही किलोमिटर टाढा छन्। उत्तरपूर्वी भारतका सेभेन सिस्टर्स राज्यहरू भौगोलिक रूपमा बंगलादेश, भुटान, चीन र म्यानमारले घेरिएका छन्। तिनीहरूको समुद्री सम्बन्ध छैन। नेपालको जस्तै ।