काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन अभियान’ का संयोजक दुर्गा प्रसाईलाई तत्काल रिहा गर्नुपर्ने माग गर्दै अहिले भद्रकालीस्थित काठमाडौं प्रहरी परिसर अगाडि नाराबाजी भइरहेको छ । उनीहरूले राज्यले फागुन २१ को चुनावसम्म हिरासतमा राख्न खोजेको भन्दै तत्काल रिहा गर्न माग गरेका हुन् ।

सरकार निरंकुश बन्न लागेको भन्दै प्रसाईलाई अविलम्ब रिहाइ गर्न भन्दै नाराबाजी गरिरहेका छन् । यस्तै, नागरिक बचाउ अभियानले आफ्ना केन्द्रीय संयोजक प्रसाईलाई मंगलबार साँझ ५ बजेसम्म रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । अभियानको संगठन विभागले जारी गरेको विज्ञप्तिमा तोकिएको समयसीमाभित्र रिहाइ नभए ‘वारपारको आन्दोलन’ सुरु गरिने चेतावनी दिइएको छ । प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निजी निवासबाट नियन्त्रणमा लिएको हो ।

निर्वाचनको संघारमा उनी पटक–पटक पक्राउ परेपछि अभियानले माघ २ गते भएको १२ बुँदे सम्झौताबारे पुनः स्मरण गराउँदै फागुन ७ गतेभित्र त्यसको पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अभियानले जारी गरेको पत्रमा निर्वाचनसँग सम्बन्धित अधिकारी तथा कार्यालयविरुद्ध ‘सशक्त प्रतिरोध’ गर्ने उल्लेख गरिएको छ ।
पत्रमा सवारीसाधन, शैक्षिक संस्था, उद्योग–व्यवसाय र बजार पूर्ण रूपमा बन्द गराउने चेतावनी पनि दिइएको छ । साथै, १२ बुँदे सम्झौता कार्यान्वयन नभएमा अनिश्चितकालीन नेपाल बन्दको घोषणा गरिने तयारी रहेको जनाइएको छ । ‘साथै, दलाल निर्वाचन अधिकृतहरु र उनका परिवार, सबै निर्वाचन बुथ, जिल्ला निर्वाचन कार्यालय र अधिकृतहरु केन्द्रीत सशक्त प्रतिरोध गर्दै जस्ताको तस्तै जवाफ दिने आन्दोलन गर्न निर्देशन गर्दछौँ,’ पत्रमा लेखिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा बढ्दो तनाव र चेतावनीपूर्ण गतिविधिले सरकारले सुरक्षा निकायलाई उच्च सतर्कताको अवस्थामा राखेको छ । तर प्रसाईले चुनावको मुखमा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन र सोविता गौतमको भिडियो सार्वजनिक गरिदिने चेतावनी दिएकाले सरकार डराएर उनको मुख थुन्ने प्रयासमा लागेको देखिएको छ ।












प्रतिक्रिया