काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोले पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको गम्भीर आरोप लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार तथा क्यासिनोका सञ्चालक नरेन्द्र साहले ऋणी तथा कर्मचारीको रकम फिर्ता नगरेको आरोप लागेको हो ।
क्यासिनोका कर्मचारी तथा ऋणीहरूबाट उठाइएको रकम फिर्ता नगरिएको भन्दै पीडित पक्ष आन्दोलित भएका छन् । गत बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा पीडितहरूले विश्वासका आधारमा कर्मचारीमार्फत क्यासिनोलाई दिएको ऋण फिर्ता नपाएको बताएका छन् । उनीहरूका अनुसार क्यासिनोले नियमित कारोबारका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट रकम सापटी लिने गरेको थियो ।
क्यासिनोमा लामो समय काम गरेका राजेन्द्र कुमारले आफूले दिएको १० लाख रुपैयाँ फिर्ता नपाएको बताए । तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठ (हिमाल) मार्फत आर्थिक समस्यामा परेको भन्दै क्यासिनोलाई उक्त रकम ऋण दिएको उनले बताए। त्यस्तै क्यासिनोमा पुजारीको काम गर्दै आएका भोजराज भट्ट (पुजारी बाजे) ले तीन पटकमा ३४ लाख रुपैयाँ सापटी दिएको तर फिर्ता नपाएको दाबी गरे।
क्यासिनोमा डान्स म्यानेजरका रूपमा कार्यरत नवराज श्रेष्ठले पनि ४० लाख रुपैयाँ पाउन बाँकी रहेको दाबी गरे। उनले आठ लाख नगदसहित १७ महिनाको डान्सरहरूको तलब नपाएको बताए ।
तत्कालीन म्यानेजर सूर्यकमल श्रेष्ठका अनुसार सञ्चालक साहले २०८१ भदौदेखि नियमित हिसाब नबुझेपछि ठगीको घटना सार्वजनिक भएको हो । उनका अनुसार क्यासिनोमा नगद अभाव हुँदा स्थानीय व्यवसायी तथा विश्वासिला सेवाग्राहीबाट सापटी लिएर कारोबार चलाइन्थ्यो।
श्रेष्ठका अनुसार विभिन्न व्यक्तिहरूको ठूलो रकम क्यासिनोले तिर्न बाँकी छ। शान्ति पाण्डेयको ३९ लाख, लिल गुरुङको ३४ लाख, मानवती पालको २० लाख, गणेश टेरको २० लाख, कविता जोशीको १८ लाख, राम पन्तको १५ लाखसहित करिब २० जनाको गरी कुल पाँच करोड २९ लाख रुपैयाँ बाँकी रहेको उनले बताए।
त्यस्तै भारतीय नागरिक सञ्जीव गान्धीको २९ लाख र सदाबको २० लाखसहित करिब दुई करोड ३६ लाख रुपैयाँ समेत तिर्न बाँकी रहेको उनको भनाइ छ, जसमा केही रकम भने फिर्ता गरिएको छ। साह २०७९ मा सर्लाही–३ बाट माओवादी केन्द्रका उम्मेदवार बनेका थिए भने यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।












प्रतिक्रिया