काठमाडौँ । नेपाली कांग्रेसले बुधबार धनुषाको जनकपुरधामस्थित तिरहुतिया गाछीमा बृहत् चुनावी सभा आयोजना गर्दैछ । दिउँसो १ बजे सुरु हुने सभामा चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गरिने भएको छ । कांग्रेसले जनकपुरबाट चुनावी अभियान सुरु गर्न लागेको हो । चुनावी सभालाई पार्टी सभापति गगन थापासहित केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ ।
थापा सभापति भएपछि पहिलो चुनावी सभा हुन लागेको हो । सभालाई कांग्रेसको मधेशकेन्द्रित पहिलो औपचारिक चुनावी शक्ति प्रदर्शनका रूपमा लिइएको छ । मधेश प्रदेश सभापति तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आठै जिल्लाबाट नेता–कार्यकर्तालाई परिचालन गरिएको र कम्तीमा एक लाख जनसहभागिता रहने लक्ष्य राखिएको जानकारी दिए । ‘प्रदेशका सबै जिल्लाका संगठनात्मक संरचना सक्रिय पारिएको छ ।
यो कार्यक्रम सभा मात्र नभई आगामी निर्वाचनका लागि संगठन सुदृढीकरणको अभ्यास पनि हो,’ उनले भने । केन्द्रीय नेतृत्वको सहभागिताले मधेशमा कांग्रेसको चुनावी अभियान औपचारिक रूपमा तीव्र हुने विश्वास गरिएको छ । कांग्रेसले बिहीबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि अनुरोध गरिएको छ ।













प्रतिक्रिया