रास्वपालाई अर्को झट्का, रास्वपा संस्थापक सदस्य नेतृ उर्मिला भुर्तेलले त्यागिन् पार्टी


काठमाडौं – रास्वपा संस्थापक सदस्य खेमकुमारी भुर्तेल (उर्मिला) ले पार्टी परित्याग गरेकी छन् । घन्टी मित्रहरूको उचित मूल्यांकन नभएको भन्दै उर्मिलाले बुधबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी रास्वपा परित्याग गरेकी हुन् ।

‘म रास्वपाको संस्थापक सदस्य २०७९ सालको प्रत्यक्ष महिला ११ जना उम्मेदवारमध्ये मधेश प्रदेशको एक्लो महिला उम्मेदवार आजसम्म आफ्नो योग्यता, क्षमता, दक्षता र समय समर्पित गर्दै पार्टीप्रति निस्वार्थ भावले निरन्तर योगदान पुर्‍याउँदै आएकी छु। राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएकी थिएँ। तर पार्टी विधि विधानविपरीत चाप्लुसीवाद र आर्थिक बादमा लिप्त भएर गएको, सक्षम महिला तथा युवाहरूलाइ नारामा मात्र सीमित राखेको छ,’ भुर्तेलले राजीनामा पत्रमा भनेकी छन्, ‘जिम्मेवारी ग्रहण गर्नुपर्ने ठाउँमा बेवास्ता गरिएको, पार्टीभित्र भ्रष्टाचार बढेको र आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिकविपरित भएको अनुभव गरेकी छु।

उर्मिलाले संगठनमा दिनरात खटिएका क्षमतावान् घन्टी मित्रहरुको योगदानको उचित मूल्यांकनसमेत नभएको आरोप लगाएकी छन् । ‘संगठनमा दिनरात खटिएका क्षेमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधानविपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मूलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच आउने परिस्थिति बनेको छ,’ उनले राजीनामा पत्रमा भनेकी छन् ।

उनले गलत क्रियाकलापको साक्षी बन्न नसक्ने भन्दै पार्टी छाडेको उल्लेख गरेकी छन् । ‘पार्टी संकटमा पर्दा पार्टी बनाउन मैले गरेका योगदानहरू पार्टी पंक्ति र आमनागरिकहरूलाई पनि जानकारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेर म नागरिकहरूसँग जवाफदेहिता हुन नसक्ने कारण यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु। त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेस गर्दछु,’ उनले भनेकी छन् ।
बुधबार मात्रै रास्वपा मधेश प्रदेश सभापति ममता शर्माले पार्टी परित्याग गरेकी थिइन् ।