गगन थापाले प्रस्तुत गरे पाँच वर्षसम्म कसरी देश हाँक्ने भन्ने रोडम्याप


काठमाडौं । कांग्रेस सभापति गगनकुमार थापाले पार्टी संचालन र राजकाज सञ्चालमा कांग्रेसले विगतमा गरेका गल्ती अब नदोहोरिने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय सभा गृहमा बिहीबार आयोजित प्रश्नोत्तर कार्यक्रमलाई आज सम्बोधन गर्दै थापाले पार्टीका मूल्य र मान्यता तथा सिद्धान्तसँग सम्झौता नगर्ने पनि स्पष्ट पारेका छन् ।

उनले अड्डा, अदालत, प्रहरी, विद्यालयलगायतका ठाउँमा अनावश्यकरुपमा पार्टीकरण भएको संकेत गर्दै त्यहाँबाट कांग्रेस फर्किनेसमेत प्रतिबद्धता जनाएका छन् । थापाले प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने बताएका छन् । उनले अब कांग्रेसले संवैधानिक आयोग, विश्वविद्यालयलगायतमा दलीय भागबन्डा नखोज्ने पनि बताए । थापाले पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने संकल्प गरे ।

०४८ सालपछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने प्रस्ताव अघि सारे । संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने थापाले बताए । गठबन्धन मिलाउनुपर्‍यो भन्दै मन्त्रालय बढाउन नपाइने बताए । थापाले भ्रष्टाचार गरेमा नेता पनि नहेर्ने, नाता पनि नहेर्ने बताए । ‘हाम्रो पहिलो प्राथमिकता पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउँछौँ,’ सभापति थापाले भने, ‘हामीले भ्रष्टाचार गरेमा नेता पनि हेर्दैनौँ । नाता पनि हेर्दैनौँ ।’ भ्रष्टाचार गरेमा कोही पनि नबच्ने सभापति थापाले बताए । उनले भने, ‘गरेको भए हाम्रा नेता पनि पर्नुहुन्छ । नातेदार पनि पर्नुहुन्छ ।

हामी पनि गरेमा पर्छौ । गरेको भए पनि पर्छौ ।’ सँगै भ्रष्टाचार नियन्त्रणका लागि कानुनहरू पनि बनाउने सभापति थापाले बताए। ‘अख्तियारले नीतिगत भ्रष्टाचार हेर्ने कुरालाई ६ महिनाभित्र बनाउने। कन्फ्लिक्ट अफ इन्टेरेस्ट र तोकिएको समयमा काम नगर्नू पनि भ्रष्टाचार हो भन्ने कुरालाई कानुन नै बनाएर लागु गर्ने हो,’ उनले भने। सभापति थापाले भने, ‘नेपाली कांग्रेसले नियुक्तिमा अब दल होइन, अब्बल खोज्छ ।’ उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने बताए । ‘नियुक्तिको शपथ लिनु पूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्ने विषय हामीले हामीले अनिवार्य गर्छौँ,’ थापाले भने ।

उनले नागरिकले पाउने सेवा कार्यालय केन्द्रित होइन, नागरिक केन्द्रित बनाउने पनि बताए । सेवा ढिलो भएमा क्षतिपूर्ति दिने व्यवस्था गर्ने थापाले बताए । थापाले प्रवासमा बस्ने नेपालीलाई समेट्न आफूहरूले कानून संशोधन गर्ने विषय घोषणापत्रमा समेटेको बताए । उनले एनआरएनहरुलाई नेपालसँग जोड्ने काम हालसम्म अधुरो र अपूर्ण भएको पनि बताए। उनले भने, ‘एकपटकको नेपाली सधैँको नेपाली हो।’ सभापति थापाले प्रवासमा रहेका नेपालीले नेपालमा रहेको पैतृक सम्पत्ति, मताधिकार र लगानीसम्बन्धी बिषयसमेत घोषणापत्रमा समेटिएको बताए ।

उनले हाल जारी स्वास्थ्य बीमामा देखिएको संकट हटाउने योजना पनि आफूहरूसँग रहेको बताए। साथै नेपालमा फ्रि हेल्थकेयरको अवधारणा सम्भव भएको बताउँदै यसलाई आफ्नो संकल्प भएको पनि उनले स्पष्ट पारे। उनले उच्च शिक्षा पढनका निम्ती खर्चको अभाव बाधा हुनुनपर्ने अवस्थाको निर्माण पनि आफूहरुले गर्ने बताउँदै यसबारे घोषणापत्रमा लेखिएको बताए । कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमा पाँच वर्षमा १५ लाखजनालाई रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ ।

‘पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्न सक्छौँ । कुन सेक्टरमा कति भन्ने हामीले योजना बनाएका छौँ,’ थापाले भने । थापाले युवाहरूले उद्यम गर्न चाहे पनि बिउ पुँजी नपाउँदा समस्या भएकोले यसको विकल्प कांग्रेसले सोचिसकेको बताए । ‘अहिले योजना भएको युवाले बिउ पुँजी पाएको छैन । युवाहरूले बिनाधितो ऋण पाउने व्यवस्था मिलाउनुपर्छ । परियोजनामा आधारित ऋण दिन्छौँ भनेका छौँ तर कसरी के भनेका छैनौँ,’ उनले भने ।