एमाले युवा नेता थपलियामाथि खुकुरी प्रहार, आइसियुमा उपचार हुँदै


काठमाडौं । एमाले युवा नेता विवेक थपलियामाथि खुकुरी प्रहार भएको छ । एमाले नेता अबुल अन्सारीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी गराएका हुन् ।

उनका अनुसार शनिबार राति एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बताएको छ । उनका हाल वीर अस्पतालमा आइसियुमा उपचार भइरहेको छ । अत्यधिक रक्तस्राव भएको र अवस्था अझै चिन्ताजनक रहेको अन्सारीले जानकारी दिएका छन् ।

थपलिया कन्टेन्ट क्रियटर र एमाले नेतासमेत हुन् । उनले सामाजिक सञ्जालमा एमाले र त्यसका नेताहरुको पक्षमा बहस र पैरवी गर्दै आएका छन् ।

‘अत्यन्तै दुखद खबर । राजधानीको खुल्लामञ्च नजिकै गए राति एक समूहले विवेक थपलियामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। सामान्य विवादका कारण सुरु भएको झगडाले उग्र रूप लिँदा अपरिचित समूहले विवेकमाथि धारिलो हतियार खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। थपलियाको टाउको र हातमा गहिरो चोट लागेको छ। घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा उनलाई उपचारका लागि नजिकैको वीर अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार उनको अत्यधिक रक्तस्राव भएको र अवस्था अझै चिन्ताजनक रहेको छ। हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ,’ अन्सारीले लेखेका छन् ।

प्रहरीले घटनास्थल आसपासका सिसिटिभी क्यामेराको फुटेज संकलन गरिरहेको जनाइएको छ। प्रारम्भिक अनुसन्धान अनुसार यो पुरानो रिसइबीका कारण भएको हुनसक्ने अनुमान गरिएको छ। आक्रमणमा संलग्न व्यक्तिहरू फरार रहेकाले प्रहरीले विशेष टोली परिचालन गरी नाकाहरूमा कडा निगरानी गरिरहेको जनाइएको छ।