भदौ २४ को विध्वंशमा रास्वपाको संलग्नता रहेको रवि लामिछानेको स्वीकारोक्ति


काठमाडौं । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा घुसपैठ रहेको प्रमुख दलहरूले दाबी गर्दै आएका छन् । तर एउटा पक्ष भदौ २४ को विध्वंश २३ गते गोली चलेकाले भएको जिकिर गर्दै आएका छन् । यसमा रास्वपाले पनि त्यस्तै पैरवी गर्दै आएको छ । तर फागुन २१ को निर्वाचनमा संसद्, सिंहदरबार, सर्वोच्च अदालत जलाउनेलाई रास्वपाले छानीछानी उम्मेदवार बनाएपछि उसको दाबी त्यहीँ खण्डन भएको छ ।

त्यसबेला हातमा आगो लिएर हिँड्ने दर्जनौं उम्मेदवार अहिले रास्वपाका छन् । त्यही भएर रास्वपाकै योजनामा भदौ २४ को विध्वंश मच्चिएको आरोप लाग्दै आएको छ । तर त्यसबेलाको विध्वंशमा आफ्नो पार्टीको संलग्नता रहेको रहस्य रास्वपा सभापति रवि लामिछानेले खोलेका छन् । लामिछानेले जेनजी आन्दोलनलाई संकेत गर्दै देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको टिप्पणी गरेपछि यस्तो रहस्य खुलेको हो ।

शनिबार चितवनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले पछिल्लो तीन वर्षमा रास्वपाले धेरै ठूलो सफलता पाएको उल्लेख गरे। ‘तीन वर्ष मेहनत गरेर हामीले आफ्नो भाग्य, भविष्य लेख्न सक्ने ठाउँ ल्याउन सानो सफलता, सानो खुट्किलो होइन,’ लामिछानेले भने।

यो अवधिमा दुःख पनि पाएको उनको भनाइ थियो। ‘यसबीचमा के के भए, मैले भन्नु पर्दैन। दुःख मैले पाए पनि आँखा तपाईका भिजेका छन्, मलाई राम्रोसँग थाहा छ। घाउ मलाई लागेको भए पनि दुखेको तपाईलाई छ,’ उनले भने।

भ्रष्टाचारको पैसामा भाग नखोजेकाले सरकार ढालेको र आफूलाई दुःख दिएको उनको आरोप थियो। ‘त्यति दुख्नै पर्थ्यो मलाई, त्यति दुःख पाउनै पर्थ्यो। आराम खोजेको भए सरकार ढल्न दिइदैनथ्यो। जलेका पैसामा भाग खोजिन्थ्यो होला। भाग खोजेनौं,’ लामिछानेले भने। यो बीचमा दुःख पाए पनि देश लुट्नेहरूलाई भाग्ने ठाउँमा पुर्‍याएको उनको जिकिर थियो। जेनजी आन्दोलनमा ठूला दलका नेता भाग्नु परेको इंगित गर्दै लामिछानेले भने, ‘देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ।’ रविले नक्खु वा भैरहवा कारागारमा हुँदा पनि प्रमुख दलका नेताहरुलाई भाग्नुपर्ने अवस्था बनाउने भनेर स्टेटमेन्ट दिने गरेका थिए । नक्खु कारागार ब्रेक गरेपछि पनि रविको यस्तै अभिव्यक्ति आउँथ्यो । त्यसैले अहिले संसद् र सिंहदरबार जलाउने रास्वपा नै भएको भन्दै सडकमा आवाज उठिरहेको छ ।