अमरेशले फेर्न थाले बोली, गगनले जितेमा आत्महत्या गर्छु नभनेको जिकिर


काठमाडौं । सर्लाही ४ मा कांग्रेस उम्मेदवार गगन थापाको पक्षमा माहोल बढेपछि रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले बोली फेर्न थालेका छन् । यसअघि उनले विभिन्न मिडिया र सार्वजनिक कार्यक्रममा ‘सर्लाही ४ मा गगन थापाले जितेमा आत्महत्या गर्छु’ भनेका थिए ।

तर पछिल्लो केही दिनयता उनी रक्षात्मक बन्दै जान थालेका छन् । आफूलाई सहयोग गर्दै आएका दर्जनौं नेता कार्यकर्ता धमाधम कांग्रेस प्रवेश गर्न थालेपछि अमरेशको ओठतालु सुकेको छ । त्यसैले अहिले उनी मिडिया र सार्वजनिक कार्यक्रममा पनि आफूले गगन थापाले जितेमा आत्महत्या गर्छु नभनेको भन्दै बोली फेर्न थालेका छन् । तर पनि आफूले चुनाव जित्ने दाबी गर्न भने उनले छाडेका छैनन् ।

विगतमा कांग्रेसका आधा मतदाताको सहयोग, माओवादी र एमालेका केही मत तानेर चुनाव जित्न सफल अमरेश त्यही तथ्यांक देखाएर अहिले पनि चुनाव जित्छु भन्दै आएका छन् । तर उनले त्यसबेला कांग्रेसका नागेन्द्र राय यादवले ल्याएको साढे १८ हजार मत ल्याएको भुलेका छन् । साथै, आफूले कांग्रेसका सात आठ हजार मत तानेको बिर्सेका छन् । कांग्रेस उम्मेदवार यादव र अमरेशले कांग्रेसबाट तानेको मत जोड्दा २५ हजार नाघ्छ । त्यसमाथि पार्टीकै सभापति उठेकाले पनि सर्लाही ४ चलायमान बनेको छ । विभिन्न दलका नेता कार्यकर्ता र समर्थक धमाधम कांग्रेस प्रवेश गरिरहेका छन् । यसबाट गगन थापाको पक्षमा माहोल बनेको छ ।

अहिलेसम्म गगन थापाले सयौंलाई कांग्रेस प्रवेश गराइसकेका छन् । यसबाट पनि माहोलसँगै भोटर पनि बढेका छन् । शनिबार मात्र बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह कांग्रेस प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई कांग्रेसका सभापति थापाले पार्टी प्रवेश गराएका हुन् ।

सिंहको निवासमै आयोजित कार्यक्रममा थापासहित कांग्रेसका केन्द्रीय तथा निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंहलगायत जिल्ला तहका नेताहरूको उपस्थिति थियो । सिंह २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा ४३ सय २७ मत प्राप्त गरी निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा भने राजपाको विभाजनपछि लोसपाबाट मेयरका प्रत्याशी बनेका उनी माओवादी उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले पराजित भएका थिए ।

यसअघि सर्लाही ४ का लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत दर्जनौं नेता–कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरिसकेका छन् । जसले गर्दा अमरेश सर्लाही ४ मा खुलेर मत माग्न सकिरहेका छैनन् । उनी अहिले बालेनलाई भजाएर मतदातालाई भ्रम बाँडिरहेका छन् । बालेन प्रधानमन्त्री बने आफू मन्त्री बन्ने उनको एक मात्र चुनावी नारा र एजेन्डा छ ।