फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं – सरकारले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको अघिल्लो दिन र पछिल्लो दिनसमेत गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यस्तै, सरकारले जेनजी परिषद् गठन गर्नेसमेत निर्णय गरेको छ । जेनजी परिषदमा को को सहभागी हुने भन्ने तय छैन । अहिलेसम्म सरकारले जेनजीका विषयमा कुनै पनि निर्णय नगरेको भन्दै विरोध हुँदै आएको थियो । त्यसलाई सरकारले ६ महिनापछि सम्बोधन गरेको हो ।

यसका साथै मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्तावित चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने, चालू आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुढीगण्डकी जलाशय युक्त जलविद्युत आयोजनाको वित्तीय लगानी ढांचा स्वीकृत गर्ने, काठमाडौ जिल्ला अदालतका जिल्ला न्यायाधीश डा. दिवाकर भट्टलाई काठमाडौ जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौको अध्यक्ष तोक्ने, वीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्न जिल्ला अदालतलाई तोक्ने र २०८३ भरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ ।