सनरुफ खोलेर गाडीबाटै भोट माग्न रवि लामिछानेलाई मात्रै छुट


काठमाडौं – सरकारले गत बिहीबार चुनाव प्रचार–प्रसारका लागि हिँडेका उम्मेदवारले सवारीसाधनको सनरुफ खोलेर हिँड्न रोक लगाउने निर्णय गरेको थियो। गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै सवारीसाधनको छत निकालेर प्रचार गर्न रोक लगाउने निर्णय गरेको थियो। यो निर्णय सबै उम्मेदवारलाई जानकारी गराइएको पनि थियो। तर रास्वपाका नेताहरूले सरकारको यो निर्णय लत्याउँदै हिँडेका छन् । चुनाव प्रचारका लागि झापा पुगेका रास्वपाका सभापति रवि लामिछानेले मंगलबार गाडीको सनरुफ खोलेरै भाषण गरेका थिए। रविले आफू्र मात्र होइन, इन्दिरा राना र निशा डाँगीलाई पनि चढाएका थिए । उनले प्युठानमा पनि सनरुफ खोलेर गाडीबाटै समर्थकलाई सम्बोधन गरेर फर्किएका थिए।

मोरङ ६ की रास्वपा उम्मेदवार रुबिना आचार्यले चुनाव प्रचारका लागि हरेक दिन गाडीको सनरुफ खोलेरै हिँड्ने गरेकी छन्। रास्वपाकै निशा डाँगी, नेता प्रमोद न्यौपानेलगायत अन्य धेरै नेताहरू सवारीसाधन प्रयोग गर्दा सनरुफ खोलेर सेलिब्रिटी स्टाइलमा हिँडिरहेका छन्।

आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावका लागि उम्मेदवारहरूको घरदैलो कार्यक्रम निकै रफतारमा चलिरहेको छ। वर्षौंदेखि गाउँ नपसेका नेताहरू भोट माग्नका लागि गाउँमै बसिरहेका छन्। उम्मेदवारको सुरक्षालाई ख्याल गर्दै सरकारले गाडीको सनरुफ खोलेर भोट माग्न नपाउने निर्णय गरेको थियो। तर, सरकारी निर्णय लत्याउँदै विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।

गृह मन्त्रालका प्रवक्ता आनन्द काफ्लेले सरकारको निर्णय बाबजुद पनि अटेरी गरेर विभिन्न नेता तथा कार्यकर्ताले गाडीको सनरुफ खोलेर प्रचार गरेको खबर आएको बताए । ‘सनरुफ खोलेर प्रचारमा हिँड्दा उम्मेदवार नै असुरक्षित हुने अवस्था देखियो। जसले जताबाट जे गरे पनि भयो, यसैले उहाँहरूको व्यक्तिगत सुरक्षालाई ध्यान राख्दै सरकारले यो निर्णय गरेको हो,’ उनले भने ।

कारबाही गर्ने जिल्ला सुरक्षा समितिलाई नै दिइएको उनको भनाइ छ । ‘सूचना आएका जिल्लामा जिल्ला सुरक्षा समितिलाई जानकारी गराएका छौ। उहाँहरूले नै के कारबाही गर्ने निर्णय गर्नुहुन्छ। केही उम्मेदवारलाई व्यक्तिगत पत्र पठाएर पनि सचेत गराइएको छ,’ गृह प्रवक्ता काफ्ले भन्छन्, ‘यो विषय सरकारले कडाइ गर्ने भन्दा पनि उम्मेदवार आफैंले बुझ्नुपर्ने विषय हो। उहाँहरूकै सुरक्षाका लागि त सरकारले सचेत हुनका लागि आग्रह गरेको हो।’

यसरी कानुनलाई हात लिने काम पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले गर्दै आएका छन् । हरेक विषयमा झुट बोल्ने, अरुलाई संगीन आरोप लगाउने, लाञ्छना लगाउने काम उनीबाट हुँदै आएको छ । कानुनभन्दा रवि माथि हो भन्दै अहिले सामाजिक सञ्जालमा सर्वसाधारणले प्रश्न गर्न थालेका छन् । ३० वर्षसम्म देशको नागरिकता छोडेर, दोहोरो नागरिकता र राहदानी लिएका रवि अहिले अरु दल र नेतालाई नैतिकताको पाठ पढाउन तल्लीन छन् ।