काठमाडौं – विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । चुनाव बिथोल्ने अभिव्यक्ति दिएका कारण नौ दिनअघि पक्राउ परेका प्रसाई अदालतको आदेशमा बुधबार रिहा भएका हुन् ।
निर्वाचन बहिष्कार गर्दै आएका प्रसाईंले सरकारलाई हिम्मत भए पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुनेर देखाउन चुनौती दिएका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा फागुन ४ गते पक्राउ परेर आज थुनामुक्त भएका उनले जिल्ला प्रहरी परिसर काठमाडौँको गेटमा बोल्दै सरकारलाई चुनौती र चेतावनी दिएका हुन् ।
नागरिक सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई दलहरुभन्दा बढी दुःख दिएको प्रसाईंको दुःखेसो छ । ‘बरु पहिले दलहरुले सरकार चलाएको बेला हप्ता–हप्तामा त पक्रिँदैनथ्यो, तर अहिले त नागरिक सरकार भन्या छ, चुनावको विषयमा केही बोल्यो कि समातेर थुनिहाल्छ’, उनले भने, ‘पूर्व राजाले पनि राजर्षी शैलीमा चुनाव हुनुहुन्न भन्नुभएको छ, हिम्मत भए उहाँलाई पनि थुन्नुस्, दम छ ओमप्रकाश अर्याल ? दम छ सुशीला कार्की ?’
प्रसाईले मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेललाई समेत त्यही चुनौती दिएको दाबी गरे । ‘हिजो सर्वोच्चमा बहस हुँदा पनि मैले श्रीमानहरुलाई भन्या छु, हिम्मत भए पूर्वराजालाई थुनेर देखाउनुस्,’ उनले भने । आफूलाई जतिपटक पक्राउ गरे पनि निर्वाचन बहिष्कारको अडान नछाड्ने प्रसाईंले चेतावनी दिए । ‘मलाई कति पटक थुन्छन्, थुनून्, यो वर्ष १३ पटक थुनिएँ, तर यो देशमा राजा नल्याउँदासम्म हाम्रो आन्दोलन रोकिँदैन,’ उनले भने ।
प्रसाईले निर्वाचन हुन नदिने भन्दै नागरिक बचाउ महाअभियानलाई देशभर आन्दोलनका कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् । सोहीअनुसार महाअभियानले निर्वाचन हुन नदिन विभिन्न गतिविधि सुरु गरिसकेको छ ।












प्रतिक्रिया