दुई वर्षअघि आरजु र दुर्गा प्रसाई भेटको तस्बिर ल्याएर अहिले भाइरल बनाइँदै


काठमाडौँ – ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग आफूले भेटेको तस्बिर निकै पुरानो भएको स्पष्ट पारेका छन् ।

बुधबार प्रहरी हिरासतबाट मुक्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सामाजिक सञ्जाल र केही मिडियामा पछिल्लो समय भाइरल भएको तस्बिर अढाई वर्ष भएको बताए । ‘आरजु राणा, पूर्णबहादुर खड्कासँगको फोटो लिक भएको मैले थाहा पाएँ । लिक भएको होइन, त्यो आएको हो, खिचिएको हो । त्यसमा ढाँट्नुपर्ने छैन, एआई होइन,’ उनले भने, ‘पर्सनल कामले भेटेको हो । दुई अढाइ वर्ष जति भयो । उहाँको पनि स्कुल छ र मेरो पनि स्कुलको कामले जाँदाखेरि कुनै नेताको घरमा भेट भएको बेला खिचिएको फोटो हो । त्यतिबेला उहाँ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।’

नेताहरूसँग फोटो खिच्दैमा गलत अर्थ नलगाउन प्रसाईंले आग्रह गरे । ‘मैले आरजु देउवासँग अढाई दुई वर्ष अगाडि फोटो खिच्दाखेरि के बिग्रियो ? अनि अब अहिले नयाँ डेट हालेर फेरि ल्याउन बेर लाउँदैनन् । बेमौसममा पानी पर्यो नि त, त्यही भएर त, कहिलेकाहीँ बेमौसममा पानी पर्छ । अब यहीबेलामा उनीहरूले देखाउन खोजेको, तर मभित्र भएको बेलामा,’ उनले भने ।

दुर्गा प्रसाईं, आरजु राणा र पूर्णबहादुर खड्काले छलफल गरेको फोटो बाहिरिएपछि सामाजिक सञ्जालमा चर्चा पाएको थियो । कतिपयले निर्वाचन भाँड्न ‘गोप्य डिल’ भन्दै प्रचारसमेत गरेका थिए । एउटा मिडियाले गत माघ ८ गते खड्कालाई भेट्न प्रसाई खड्काकै निवास पुगेको र त्यसको चार दिनपछि दुर्गा प्रसाई र आरजु राणाको भेटको मिति तय भएको समाचार छापेको थियो । समाचारमा खड्का, राणा र प्रसाईबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भाँड्नका लागि मौखिक सल्लाह भएको दाबीसमेत गरिएको थियो ।