काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी एवं नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पूर्वराजपरिवार सडकमा उत्रिन लागेको भन्दै आफ्ना समर्थकलाई काठमाडौं बोलाएका छन् ।
प्रसाईले फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित हुन देशभरका सर्वसाधारणलाई अपिल गरेका छन् । राजपरिवारका सदस्यहरु स्वयं सडकमा उत्रिने तयारीमा रहेको उनको दावी छ । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो दावी गरेका हुन् ।
‘राजपरिवारका सदस्यहरु स्वयं अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनुभएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फागुन १६ गतेभित्र काठमाडौँमा उपस्थित भई राष्ट्रलाई युक्रेन हुनबाट जोगाउन हार्दिक आह्वान गर्दछौँ,’ उनले लेखेका छन् । प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहको तस्बिर पनि राखेका छन् ।
राष्ट्र, धर्म र नागरिकको सुरक्षा साझा जिम्मेवारी भएकाले सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन उनले अनुरोध गरेका छन् । करिब नौ दिनसम्म प्रहरी हिरासतमा रहेर बुधबार रिहा भएका प्रसाईले कुनै पनि हालतमा फागुन २१ मा निर्वाचन हुन नदिने चेतावनी दिएका थिए । पूर्वराजा शाहले फागुन ७ गतेको राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै आफ्नो व्यवस्थापन नगरी निर्वाचन नगर्न आह्वान गरेका थिए ।












प्रतिक्रिया