काठमाडौं – देशका १६५ मध्ये झापा ५ यतिबेला हटसिट मानिएको छ । एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन चुनावी मैदानमा उत्रिएपछि यो क्षेत्र बढी चर्चामा आएको हो । हुन त यहाँ नेपाली कांग्रेस, नेकपा, राप्रपालगायत दल र स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । तर चर्चा भने ओली र बालेनकै मात्र भइरहेको छ ।
देशका दुई चारवटा निर्वाचन क्षेत्र छाड्ने हो भने सबैमा चार पक्षीय भिडन्त हुने देखिन्छ । धेरैजसो स्थानमा कांग्रेस, रास्वपा, एमाले र नेकपाबीच कडा प्रतिस्पर्धा हुने भएको छ । त्यहीमध्येको एक हो झापा ५ । तर ओलीले जित्लान् कि बालेनले भनेर हाउगुजी चलाइएको छ ।
झापा ५ मा कांग्रेसकी मन्धरा चिमोरिया पौडेल र नेकपाका रञ्जित तामाङ पनि बलिया उम्मेदवार हुन् । राप्रपाका लक्ष्मी संग्रौलाको पनि पकड छ । ओली र बालेन भन्दाभन्दै अन्य दलका उम्मेदवारले बाजी नमार्लान् भनेर भन्न सकिने अवस्था छैन । कांग्रेस नेता विश्वदीप लिङ्देनले २०६४ को संविधानसभा निर्वाचनमा ओलीलाई हराएका थिए । त्यसबेला उनी माओवादीबाट उम्मेदवार बनेका थिए । उनले ओली र बालेन दुवै पराजित हुने भविष्यवाणी गरिरहेका छन् ।
जति जति चुनावको मिति नजिकिँदै गएको छ झापा ५ बारे विभिन्न हल्ला र गसिप बाहिर आउन थालेको छ । यसैक्रममा बिहीबार बिहानदेखि एमाले र नेकपाबीच १० निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता लिने सहमति भएको भनेर हल्ला चलेको छ । जसले गर्दा झापा ५ मा नेकपा उम्मेदवार रञ्जित तामाङ तनावमा परेका छन् । झापा ५ मा ‘म्याच फिक्सिङ’ भएको भनेर हल्ला चलेपछि तामाङले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।
रञ्जितलाई प्रचण्डले झापा ५ मा कुनै दलहरूसँग सहकार्य नहुने बताएको उनले मिडियालाई जानकारी गराएका छन् ।
उनले सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई नपत्याई सक्रिय भएर लाग्नसमेत आग्रह गरेका छन् । ‘मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ । बाहिर जे बजारमा हल्ला आएको छ । कहीँ पनि अलाएन्स हुँदैन पनि,’ प्रचण्डले आफूलाई फोनमा भनेको कुरा उद्धृत गर्दै तामाङले भने, ‘कुनै पनि छलफल कुराकानी भएको छैन र हुँदैन पनि । हामी दृढतापूर्वक लागौं भन्नुभएको छ ।’
प्रचण्डले सक्रिय भएर खटिन पनि पार्टी पंक्तिलाई आग्रह गरेको उनले जानकारी गराए । फोनवार्ताका क्रममा तामाङले पूर्वमा सभा राख्न लागिएको र त्यसमा प्रचण्डलाई पनि सहभागीका लागि आग्रह गरेको बताए । प्रचण्डले बुधबार काठमाडौंमा बुद्धिजिवीहरूसँगको छलफलमा विदेशी शक्तिहरूलाई परास्त गर्न कांग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने बताएका थिए ।
‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनुपर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा कांग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘यी त हाम्रा पुराना सहयात्री हुन् । वैदेशिक दलालहरूले विरुद्ध जान पनि मिल्नुपर्ने छ ।’ यही अभिव्यक्तिपछि झापा–५, दाङ–२ लगायतका क्षेत्रमा कांग्रेस–एमालेसँग मिल्न लागेको टिप्पणी भएपछि प्रचण्डले तामाङलाई फोन गरेका हुन् । केही दिनयता ओली र प्रचण्डबीच सघन कुराकानी भइरहेको नेताहरुले बताउन थालेका छन् ।












प्रतिक्रिया