रास्वपा नवलपरासी र कास्कीका प्रभावशाली नेताले छाडे पार्टी


काठमाडौं – रास्वपा नवलपरासीका सभापति महेन्द्रसिंह ठकुरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनलाई बिहीबार स्वागत गरे ।

नवलपरासी बर्दघाटको चौपतामा भएको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन् । कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको उनले बताए । ठकुरीले कांग्रेस उम्मेदवार विनोद चौधरीलाई सहयोग गर्ने भएका छन् ।

रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए । ठकुरीले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए । त्यसबेला पनि कांग्रेस उम्मेदवार चौधरी नै विजयी भएका थिए ।

चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाई धक्का लागेको छ । रास्वपाले कांग्रेस लुम्बिनी प्रदेशका पूर्वमहामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट थिए । खनालले निर्वाचनमा आफूलाई अन्तर्घात गरेको प्रमाणसहित चौधरीले कांग्रेस केन्द्रीय अनुशासन आयोगमा बुझाएपछि उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो । कांग्रेसले कारबाही गरेपछि खनाल रास्वपा उम्मेदवार बनेका छन् ।

सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिन अगाडि रास्वपा परित्याग गरेका थिए ।

यस्तै, रास्वपा कास्कीका नेता राजु राईले पनि पार्टी परित्याग गरेका छन् । राजनीति सोझो र इमानदारले गर्ने काम नभएको निष्कर्ष निकाल्दै उनले आज सामाजिक सञ्जालबाट पार्टी छाडेका घोषणा गरेका हुन् । राईले फेसबुकमा लेखेका छन्, ‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ रु आजबाट राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ ? स्वतन्त्र नागरिक भएर समाज सेवा मा लाग्नेछु १’

राईले नेता चिन्नुपर्ने र टिकट किन्नुपर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु भएको भन्दै दुई दिनअघि पनि फेसबुक स्टाटस लेखेका थिए । ०७९ को निर्वाचनमा कास्की १ बाट लडेका राईले १० हजार ९४१ मत ल्याएका थिए । त्यहाँ जित्ने एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत ल्याउँदा राई तेस्रो भएका थिए । पार्टी छाडेका राई अहिले पनि टिकटको आकांक्षी रहेको बताइएको छ ।

गएको निर्वाचनमा १० हजार मत ल्याएका राईलाई टिकट नदिएर रास्वपाले खडकराज पौडेललाई उम्मेदवार बनाएदेखि नै राई पार्टी नेतृत्वप्रति असन्तुष्ट थिए ।