सर्लाही ४ मा अमरेशले पनि रास्वपाको टिकट किनेको खुलासा


काठमाडौं सर्लाही ४ का रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले करोडौंमा टिकट किनेको रहस्य खुलेको छ । रास्वपा नेता दिनेश साहूले पार्टी केन्द्रीय सदस्य प्रमोद न्यौपानेसँग यसको रहस्य खोलेका हुन् । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

साहू धनुषा २ बाट टिकटका आकांक्षी थिए । तर रास्वपाका प्रवक्ता एवं धनुषा ३ का उम्मेदवार मनिष झाले डेढ करोडमा रामविनोद यादवलाई टिकट बेचेको अडियोमा सुन्न सकिन्छ । साहूले यदि पैसा नै चाहिएको भए आफूले श्रीमतीलाई दुई तीन करोड कति चाहिन्छ, गाडीमा चेक छ काटेर दिनु भनेर भने पनि पछि त डेढ करोडमा झाले यादवलाई टिकट बेचेको थाहा पाएको साहूले भनेका छन् । रास्वपाले टिकट दिएका यादव भर्खरै जेलबाट छुटेका अभियुक्त हुन् । पहिलेका एमाले उनी जनमत हुँदै रास्वपामा छिरेका हुन् ।

साहूले न्यौपानेलाई भनेका छन्, ‘मैले पार्टीको विधानअनुसार नोमिनेसन लिएको छु । उसले त लिएको छैन, न पार्टीको सदस्य नै हो । त्यो दिन मात्र सेटिङ मिलाएर, सदस्यता लिएर मनिषले टिकट बेचेछ, पहिला पनि मनिषले पार्टीलाई अलिअलि सहयोग गर्नुपर्छ भन्दा ओके भाइ म गर्छु भनेको थिएँ । इभेन्ट हुँदा सबै ठाउँमा मैले पैसा पठाएको छु । अस्ति सोधेको कति पैसा चाहियो ? मेरो ससुराली काठमाडौं, डिपी दाइको क्षेत्र नम्बर ९ मा छ । एक सय जति भोट मेरो त्यहाँ छ । मैले श्रीमतीलाई फोन गरेर, मनिष झालाई दुई–तीन करोड कति चाहियो, गाडीबाट चेक निकालेर दिनुस् भनेको छु । यतिसम्म भन्दा पनि नपुगेर टिकट बेचेपछि अरु के भन्ने ?’

साहूका अनुसार सर्लाही ४ का उम्मेदवार अमरेशकुमार सिंह, सिराहा ४ का तपेश्वर यादव र समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवसमेत टिकट खरिदकर्तामा पर्दछन् । आफूले टिकट किनेपछि सिंहले सर्लाही ३ मा क्यासिनो सञ्चालक नरेन्द्र साह कलवारसँग पैसा लिएर टिकट बेचेको अहिले रास्वपा वृत्तमा चर्चा छ ।


आफूले करोडौंमा रास्वपाको टिकट लिएका अमरेश अहिले कांग्रेस सभापति गगन थापालाई बालेनको नारा लिएर हराउँछु भनेर लागिपरेका छन् । तीनपटकसम्म सांसद भए पनि निर्वाचन क्षेत्रको विकासमा सिन्कोसमेत नभाँचेका सिंहलाई यसपटक जनताले दण्डित गर्ने मनस्थिति बनाइसकेका छन् ।