काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह सडकमा उत्रिने चर्चासँगै राजनीति फेरि तरंगित भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न शक्तिराष्ट्रको चलखेल बढेपछि विभिन्न शंका उपशंका बढेको छ । भूराजनीति चलखेल तीव्र बनेको भन्दै राज्य बचाउन पूर्वराजपरिवार सडकमा आउन लागेको भनेर नागरिक बचाउ महअभियानका संयोजक दुर्गा प्रसाईले जानकारी दिएका छन् । उनले आफ्ना समर्थकलाई शनिबारसम्म काठमाडौं आउन आमन्त्रण गरिसकेका छन् । त्यसैले अहिले चुनावअघि नेपालको राजनीतिमा कुनै नसोचेको घटना हुनसक्ने अनुमान गर्न थालिएको छ ।
फागुन २१ को चुनावी तयारी उत्कर्षमा पुगेको बेला नेपाली सेनाका पूर्वसेनापतिहरु हुल बाँधेर दिल्ली गएका छन् । चारजना पूर्व प्रधानसेनापति बिहीबार नयाँ दिल्ली गएका छन् । स्रोतका अनुसार पूर्णचन्द्र थापा, प्यारजंग थापा,राजेन्द्र क्षेत्रीसहितको टोली चुनावको मुखैमा भारत जानुको कारण खुलेको छैन ।
पूर्व प्रधानसेनापतिहरु राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापा नेपाल एयरलाइन्सको काठमाण्डौ(दिल्ली उडानबाट बिहीबार दिउँसो पौने ३ बजे प्रस्थान गर्दा प्यारजंग थापा र गौरवसमशेर राणाले भने एयर इण्डियाको बिहान साढे ११ बजेको उडान रोजेका थिए ।
एक्कासि पूर्वप्रधानसेनापतिहरुको दिल्ली दौडलाई लिएर नेपालमा अनेकथरी चर्चा परिचर्चा सुरु भएको छ । धेरैले राजसंस्था पुनःस्थापनाको खेल सुरु भएको आकलन गरेका छन् । यसपटक नेपाली सेनालाई निर्वाचन सुरक्षाको सबै जिम्मेवारी दिनुले पनि विभिन्न् शंका उपशंका उठेका हुन् । पश्चिमा देशहरुको चलखेल रोक्न पनि नेपालमा राजसंस्था पुनः स्थापना गर्नुपर्ने पक्षमा भारत, चीन, रुसलगायतका देश पुगेको हल्ला चलाइएको छ ।












प्रतिक्रिया