काठमाडौं – २०७२ भदौ ७ मा टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच भएको हिंसात्मक झपडमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको निर्मम हत्या भएको थियो । गम्भीर घाइते भएका एक प्रहरीको पछि उपचारका क्रममा निधन भएको थियो ।
देशलाई संघीयतामा लैजाने भन्दै प्रदेश संरचनाको सीमाकंन र नामांकनका लागि दलहरूबीच बहस चलिरहेको थियो । ठाउँठाउँमा आन्दोलन चर्केका थिए । सुदूरपश्चिमका नौवटै जिल्लाको एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिम आन्दोलन पनि उत्कर्षमा थियो । त्यही बेला टीकापुर हत्याकाण्ड भएको थियो ।
टीकापुर हत्याकाण्डमा रेशम चौधरीसहित धेरै व्यक्ति मुख्य दोषी करार गरिएका थिए । टीकापुर हत्याकाण्डका बेला तनाव ल्याउने र हिंसा गर्न उक्साउनेमा अमरेशकुमार सिंह थिए । उनले नै हत्याकाण्डका बेला टीकापुर पुगेर मास भड्काएका थिए । उनले आफ्ना माग पूरा नभए घरघरबाट हतियार निस्कन आह्वान गरेका थिए ।
‘म यहाँ के भन्न आएको हुँ भने तपाईहरू घरघरबाट लाठी लिएर निस्कनु होस्, भाला लिएर निस्किनुस् । एक हातमा तरबार लिएर निस्कनु होस् । जबसम्म तपाईहरू हाम्रो सत्ता दिँदैनौं भने । हाइवे बन्द गर्नुहोस् । लम्की बन्द गर्नुहोस्,’ अमरेशले यसरी मास भड्काएका थिए । उनी संविधान नलेखियोस् भनेर त्यसबेला जहाँजहाँ आन्दोलन हुन्छ त्यहाँत्यहाँ गएर भाषण दिन्थे । मास भड्काउने गर्थे । तर पनि भारतीय एजेन्ट भएकै कारण उनीमाथि कांग्रेसले कुनै कारबाही गर्न सकेन । त्यतिबेला कांग्रेसबाट सर्लाही ४ मा निर्वाचित भए पनि उनी पार्टीमा अराजक बनेका थिए । केही समयपछि भने उनलाई पार्टीबाटै निकालियो । उनी दिनभर नेताहरूको गुप्तचरी गर्ने र राति लैनचौरस्थित भारतीय दूतावास पसेर ब्रिफिङ गर्ने गरेको उनी निकट नेताहरु नै बताउँछन् । त्यो क्रम अहिले पनि जारी छ । यतिबेला उनी रास्वपासँग टिकट किनेर सर्लाही ४ मा उम्मेदवार बनेका छन् ।
यतिबेला अमरेश बालेनको भरपर्दो सारथी भनेर चुनावमा उत्रिएका छन् । कुनै प्रमाण फेला नपरेका रेशम चौधरी लामो समय जेलमा बसेर चुनावसमेत लड्न नपाउने गरी प्रतिबन्धित छन् ।
यसरी भएको थियो घटना;
सुदूरपश्चिमको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर छुट्टै थरुहट प्रदेशको माग गरेर कैलाली कञ्चनपुरको थारु समुदाय पनि आन्दोलित थियो । अवस्था यस्तो थियो कि एकै ठाउँमा परस्पर विरोधी आन्दोलन चलिरहँदा प्रशासनले आन्दोलनका लागि फरक फरक सडक र समय छुट्याउनु परेको थियो ।
घटनाका दिन (भदौ ७ गते) टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान प्रदेशको बोर्ड झुण्ड्याउने थारु आन्दोलनकारीहरूको तयारी थियो । हजारौँको संख्यामा आन्दोलनकारी टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सुरक्षा कमाण्ड सम्हाल्न आफैँ टीकापुर पुगेका थिए ।
तर आन्दोलनकारीहरूको ठूलो भीड प्रहरीले थेग्न नसक्दा अचानक दंगा फैलियो । आन्दोलनकारीको भीडबाट प्रहरीमाथि भाला र तरबारलगायतका हतियारले आक्रमण भयो । केही प्रहरीलाई ज्युँदै जलाइयो । प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित सात प्रहरीको निर्मम हत्या भयो । गोली लागेर एक अढाई वर्षीय बालकले पनि ज्यान गुमाए । उनको शरीरमा सुरक्षाकर्मीले चलाएको गोली लागेको बताइन्छ । थप एक प्रहरीको पछि उपचारका क्रममा निधन भयो ।
घटनापछि सुरक्षा खतरालाई ध्यानमा राख्दै कैलालीमा ३२ दिनसम्म कफ्र्यु लगाइएको थियो । तर टीकापुर हत्याकाण्ड भएको भोलिपल्ट ८ भदौमा कफ्र्यू लागेकै अवस्थामा टीकापुरमा थारु समुदायका घरमाथि हमला भएको थियो । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार भनिएका रेशम चौधरीले सञ्चालन गरेको फूलवारी एफएम तथा रिसोर्टमा आगजनी गरिएको थियो ।
रेशमलाई तीन तहकै अदालतले टीकापुर हत्याकाण्डका मुख्य दोषी मानेको छ । जिल्ला र उच्च अदालतले गरेको जन्मकैदको सजाय सर्वाेच्च अदालतले पनि सदर गरेको थियो । तर राजनीतिक सौदाबाजी गरेर सरकारले रेशमलाई जेलमुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले उनको कैद मिनाह गरेका थिए । टीकापुर हत्याकाण्ड मच्चिएकै दिनदेखि फरार रहेका रेशमले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए । चुनाव जितेपछि उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । तर अदालतले टीकापुर घटनामा दोषी रहेको फैसला सुनाएपछि रेशमको जेलको बाटो तय भएको थियो । रेशमकै साथी अमरेश भने अहिले चुनावी मैदानमा छन् ।












प्रतिक्रिया